झापा, ७ मंसिर । कोशी प्रदेशका पूर्वाधार आयोजनामा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले कोशी प्रदेश सरकार, प्रदेश लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सोमबार विराटनगरस्थित बिग होटलमा आयोजित कार्यक्रममा मुख्यमन्त्री तथा प्रदेश लगानी प्राधिकरणका अध्यक्ष हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा समझदारी भएको हो । समझदारीपत्रमा प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइराला र निफ्राका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका छन् ।

एक वर्ष अवधिको समझदारीअनुसार प्रदेशमा प्राविधिक तथा आर्थिक रूपमा सम्भाव्य पूर्वाधार आयोजनाको पहिचान, सार्वजनिक–निजी साझेदारी (पीपीपी) प्रवर्द्धन, वित्तीय सम्भाव्यता मूल्याङ्कन र लगानी व्यवस्थापनमा सहकार्य गरिनेछ ।
समझदारीअनुसार प्रदेश लगानी प्राधिकरणले सम्भावित आयोजनाको सूची तयार गरी विकासकर्ता तथा सरोकारवालासँग समन्वय गर्नेछ भने निफ्राले आयोजनाको प्रारम्भिक छनोट, वित्तीय विश्लेषण तथा सम्भाव्यता मूल्याङ्कन गर्नेछ । सम्भाव्य आयोजनामा निफ्राले वित्तीय सल्लाहकार वा प्रमुख व्यवस्थापकको भूमिका निर्वाह गर्न सक्नेछ ।
यसै अवसरमा सुनसरीको दुहबी नगरपालिकामा निर्माण हुने फोहोरमैला प्रशोधन तथा व्यवस्थापन परियोजनामा कर्जा लगानी गर्न निफ्रा र विकासकर्ता रिभाइभ इन्फ्राटेक एण्ड इन्भेस्टमेन्ट प्रालिबीच छुट्टै समझदारी भएको छ । १६ बिघा क्षेत्रफलमा ५६ करोड रुपैयाँ लगानीमा परियोजना निर्माण हुने जनाइएको छ ।
कार्यक्रममा प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. कोइरालाले निफ्राले कोशी प्रदेशका कम्तीमा पाँचवटा आयोजनामा लगानी गर्नुपर्ने धारणा राखे । कार्यक्रममा मुख्यमन्त्री कार्की, निफ्राका अध्यक्ष महेशप्रसाद दाहाल, दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदार, बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर तथा उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतलगायतको उपस्थिति थियो ।
यस समझदारीले कोशी प्रदेशमा लगानीको वातावरण निर्माण, पूर्वाधार विकास र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।



