झापा, ७ मंसिर । वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने प्रलोभनमा भारतको नयाँदिल्लीस्थित होटलमा ४५ दिनदेखि बन्धक बनाइएका तीन नेपालीको उद्धार गरिएको छ ।
सगरमाथा आरोही कल्पना महर्जनका अनुसार सामाजिक संस्था किन इण्डियासहित नेपाल र भारतका सम्बन्धित निकायको संयुक्त पहलमा शनिबार उनीहरूको सकुशल उद्धार गरिएको हो ।

रोजगारीको प्रलोभन देखाएर अवैध मानव ओसारपसार समूहले उनीहरूलाई दिल्ली पुर्याई होटलको कोठामा बन्धक बनाएर राखेको बताइएको छ ।
घटनाबारे जानकारी पाएपछि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो, नेपाली राजदूतावास नयाँदिल्ली, दिल्ली प्रहरी र किन इण्डियाले समन्वय गरी उद्धार अभियान सञ्चालन गरेका थिए ।
किन इण्डियाका निर्देशक नवीन जोशीका अनुसार वैदेशिक रोजगारीको आश्वासन दिएर नेपाली नागरिकलाई शोषण तथा बेचबिखनको जोखिममा पार्ने यस्ता घटनाप्रति राज्यका निकाय थप सचेत र जिम्मेवार हुन आवश्यक छ ।
आरोही महर्जनले पनि सम्बन्धित निकायको सक्रियता र संयुक्त प्रयासबाट तीनै जनालाई बन्धक अवस्थाबाट मुक्त गर्न सफल भएको बताएकी छन् ।
वैदेशिक रोजगारीको प्रलोभनमा अवैध मानव ओसारपसारको जोखिम बढ्दै गएकाले विदेश जानुअघि म्यानपावर कम्पनी, रोजगारदाता र श्रम स्वीकृतिलगायतका विषयमा आधिकारिक जानकारी लिन आवश्यक देखिएको छ ।



