इनरुवा, ८ मंसिर । सर्वोच्च अदालतमा सरुवा भएका सुनसरी जिल्ला अदालतका स्रेस्तेदार टेकेन्द्रवीर जंग राणालाई सम्मानसहित बिदाइ गरिएको छ।
सुनसरी जिल्ला अदालतले राणाको सम्मानमा ‘बिदाइ तथा फेरि भेटौँला’ कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा जिल्ला अदालतका प्रमुख न्यायाधीश मनोज केसीले उनलाई औपचारिक रूपमा सम्मानसहित बिदाइ गरे।

कार्यक्रममा प्रमुख न्यायाधीश केसीले सुनसरी अदालतमा रहँदा राणाले मुद्दा व्यवस्थापन, कर्मचारी प्रशासन, संगठनात्मक व्यवहार तथा पेशागत आचारसंहिताको पालनामा निर्वाह गरेको भूमिका र योगदानको प्रशंसा गरे।
उनले न्यायालयको सेवा प्रवाहलाई छिटोछरितो बनाउन तथा अदालत र कानुन व्यवसायीबीच सुमधुर सम्बन्ध कायम गर्न राणाले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए। उनको समन्वयात्मक कार्यशैलीले अदालतमा सकारात्मक उदाहरण स्थापित गरेको उल्लेख गर्दै केसीले उनको अभाव खड्किने धारणा व्यक्त गरे।
बिदाइका क्रममा स्रेस्तेदार राणाले सुनसरी अदालतमा बिताएको कार्यकाल स्मरण गर्दै कार्यसम्पादनका क्रममा न्यायाधीश, कर्मचारी, सरकारी वकिल, कानुन व्यवसायी तथा अन्य सरोकारवालाबाट प्राप्त सहयोग र सहकार्यप्रति आभार व्यक्त गरे।
यसैबीच, झापा जिल्ला अदालतबाट सरुवा भई आएका शाखा अधिकृत रामचन्द्र बस्नेतलाई समेत सुनसरी जिल्ला अदालतले स्वागत गरेको जनाएको छ।



