डा. केदार कार्की
एन्टिमाइक्रोबियल प्रतिरोध वर्तमान विश्व स्वास्थ्य क्षेत्रको सबैभन्दा गम्भीर र मौन रूपमा फैलिरहेको सङ्कटमध्ये एक हो । यसले सामान्य सङ्क्रमणलाई समेत उपचार गर्न कठिन बनाउँदै लाखौँ मानिसको जीवन जोखिममा पारिरहेको छ । प्रभावकारी औषधिहरूको क्षमता क्रमशः कमजोर हुँदै जाँदा सामान्य सङ्क्रमणदेखि जटिल शल्यक्रियासम्मका उपचार चुनौतीपूर्ण बन्दै गएका छन् । त्यसैले एन्टिमाइक्रोबियल प्रतिरोधलाई २१औं शताब्दीको प्रमुख विश्वव्यापी स्वास्थ्य चुनौतीका रूपमा लिइएको छ ।
एन्टिमाइक्रोबियल प्रतिरोध भन्नाले ब्याक्टेरिया, भाइरस, फङ्गस तथा परजीवीजस्ता सूक्ष्मजीवहरूले औषधिको प्रभावविरुद्ध प्रतिरोध क्षमता विकास गर्नु हो । यसका कारण एन्टिबायोटिक, एन्टिभाइरल, एन्टिफङ्गल तथा एन्टिप्यारासाइटिक औषधिहरू प्रभावहीन हुँदै जान्छन् र सङ्क्रमणको उपचार कठिन वा असम्भव बन्न सक्छ । विशेषगरी एन्टिबायोटिक प्रतिरोध बढ्दै जाँदा सामान्य जीवाणुजन्य सङ्क्रमणसमेत ज्यानै जाने अवस्थासम्म पुग्न सक्छ ।


विश्वव्यापी रूपमा एन्टिमाइक्रोबियल प्रतिरोधसँग सम्बन्धित मृत्युको संख्या चिन्ताजनक छ । उपलब्ध अध्ययनहरूले यस समस्याका कारण प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाखौं मानिसको मृत्यु भइरहेको देखाएका छन् । ग्लोबल बर्डन अफ डिजिज (जीबीडी) अध्ययनका प्रक्षेपणअनुसार सन् २०५० सम्ममा एन्टिमाइक्रोबियल प्रतिरोधका कारण विश्वभर प्रत्यक्ष रूपमा हुने मृत्यु वार्षिक १९ लाख १० हजारसम्म पुग्न सक्ने अनुमान गरिएको छ । यससँग सम्बन्धित मृत्युको संख्या भने ८२ लाखभन्दा बढी हुन सक्ने आँकलन छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्यूएचओ) ले पनि एन्टिमाइक्रोबियल प्रतिरोधलाई विश्वव्यापी स्वास्थ्य, खाद्य सुरक्षा तथा विकासका लागि गम्भीर चुनौतीका रूपमा पहिचान गरेको छ । यस समस्यालाई नियन्त्रण गर्न सन् २०३० सम्ममा ब्याक्टेरियाजन्य एन्टिमाइक्रोबियल प्रतिरोधसँग सम्बन्धित मृत्युदर घटाउने लक्ष्यसहित अन्तर्राष्ट्रियस्तरमा विभिन्न रणनीति अघि सारिएका छन् ।
एन्टिमाइक्रोबियल प्रतिरोधको ऐतिहासिक पृष्ठभूमि
एन्टिमाइक्रोबियल प्रतिरोधलाई आधुनिक चिकित्सा विज्ञानको विकाससँगै उत्पन्न भएको नयाँ समस्या मात्र मान्नु गलत हुन्छ । वास्तवमा, सूक्ष्मजीवहरूमा औषधिविरुद्ध प्रतिरोध क्षमता विकास हुनु प्राकृतिक जैविक प्रक्रिया हो । एन्टिबायोटिकको आविष्कार हुनुभन्दा हजारौं वर्षअघिका सूक्ष्मजीवमा समेत आधुनिक औषधिविरुद्ध प्रतिरोधी क्षमता रहेको वैज्ञानिक अध्ययनहरूले देखाएका छन् ।
रोमानियाको स्कारिसोआरा बरफ गुफाबाट प्राप्त करिब पाँच हजार वर्ष पुरानो ब्याक्टेरियामा आधुनिक एन्टिबायोटिकविरुद्ध प्रतिरोधी क्षमता भेटिनुले पनि यो प्रक्रिया प्राकृतिक रूपमा लामो समयदेखि विद्यमान रहेको पुष्टि गर्छ ।
सन् १९२८ मा अलेक्जेन्डर फ्लेमिङले पेनिसिलिन पत्ता लगाएपछि एन्टिबायोटिकको प्रयोगले चिकित्सा क्षेत्रमा ठूलो क्रान्ति ल्यायो । यसले लाखौं मानिसको जीवन बचाउनुका साथै विभिन्न सङ्क्रामक रोगको उपचारलाई सहज बनायो । तर, एन्टिबायोटिकको व्यापक प्रयोगसँगै सूक्ष्मजीवहरूले पनि क्रमशः औषधिविरुद्ध प्रतिरोध क्षमता विकास गर्न थाले ।
प्रतिरोध विकास हुने प्रक्रिया
ब्याक्टेरियामा एन्टिबायोटिक प्रतिरोध मुख्यतः दुई प्रकारले देखिन्छ— आन्तरिक प्रतिरोध र प्राप्त प्रतिरोध ।
आन्तरिक प्रतिरोध ब्याक्टेरियाको प्राकृतिक संरचना वा जैविक विशेषताका कारण उत्पन्न हुन्छ । उदाहरणका लागि, केही ग्राम–नेगेटिभ ब्याक्टेरियाको बाहिरी झिल्लीले निश्चित प्रकारका एन्टिबायोटिकलाई कोषभित्र प्रवेश गर्न दिँदैन । यसले गर्दा ती औषधिहरू स्वाभाविक रूपमा प्रभावहीन हुन सक्छन् ।
प्राप्त प्रतिरोध भने पहिले औषधिप्रति संवेदनशील रहेका ब्याक्टेरियाले उत्परिवर्तन वा अन्य ब्याक्टेरियाबाट प्रतिरोधी जिन प्राप्त गरेपछि विकास हुन्छ । प्लाज्मिडमार्फत एक ब्याक्टेरियाबाट अर्कोमा प्रतिरोधी जिन सर्ने प्रक्रियाले पनि यसलाई तीव्र बनाउँछ ।
विशेषगरी, एन्टिबायोटिकको अनावश्यक, अत्यधिक र अव्यवस्थित प्रयोगले संवेदनशील ब्याक्टेरिया नष्ट हुने तर प्रतिरोधी ब्याक्टेरिया जीवित रहने अवस्था सिर्जना गर्छ । यसरी प्रतिरोधी सूक्ष्मजीवको संख्या बढ्दै जान्छ र उनीहरू समुदायमा फैलिन सक्छन् ।
एन्टिमाइक्रोबियल प्रतिरोधका प्रमुख कारण
एन्टिमाइक्रोबियल प्रतिरोध बढ्नुका पछाडि मानव स्वास्थ्य, पशु स्वास्थ्य, कृषि तथा वातावरणसँग सम्बन्धित विभिन्न कारण छन् ।
१. औषधिको अत्यधिक र अव्यवस्थित प्रयोग ः मानव उपचार, पशुपालन तथा कृषि क्षेत्रमा एन्टिमाइक्रोबियल औषधिको आवश्यकता र औचित्य नहेरी प्रयोग गर्नु यसको प्रमुख कारण हो । चिकित्सक वा पशु चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक सेवन गर्नु, सामान्य रुघाखोकीजस्ता भाइरसजन्य रोगमा एन्टिबायोटिक प्रयोग गर्नु तथा पशुपालनमा उत्पादन वृद्धि गर्ने उद्देश्यले औषधिको अनावश्यक प्रयोग गर्नुले प्रतिरोध विकासलाई प्रोत्साहन गर्छ ।
२. औषधिको अनुचित प्रयोग र उपचारमा लापरबाही ः चिकित्सकको सल्लाहबिना औषधि सेवन गर्नु, आफैंले औषधिको मात्रा परिवर्तन गर्नु वा उपचारको अवधि सम्बन्धमा चिकित्सकीय निर्देशन पालना नगर्नुले उपचार असफल हुने र प्रतिरोध विकास हुने जोखिम बढाउँछ । त्यसैले एन्टिबायोटिकको प्रयोग गर्दा स्वास्थ्यकर्मीको निर्देशन पालना गर्नु आवश्यक छ ।
३. वातावरणीय प्रदूषण ः औषधि उद्योग, अस्पताल तथा पशुपालन फार्मबाट निस्कने प्रशोधित नभएका फोहोर पानी र जैविक फोहोरले वातावरणमा एन्टिमाइक्रोबियल अवशेष तथा प्रतिरोधी सूक्ष्मजीव फैलाउन सक्छन् । त्यस्तै, भारी धातुजन्य प्रदूषणले पनि सूक्ष्मजीवमा प्रतिरोधी क्षमता कायम रहन र फैलिन सहयोग पु¥याउन सक्छ ।
४. कमजोर स्वास्थ्य पूर्वाधार र सरसफाइको अभाव ः अस्पतालमा सङ्क्रमण नियन्त्रणका मापदण्ड पालना नहुनु, स्वच्छ खानेपानीको अभाव, अपर्याप्त सरसफाइ तथा कमजोर फोहोर व्यवस्थापनले प्रतिरोधी सूक्ष्मजीवको प्रसारलाई तीव्र बनाउँछ । विशेषगरी सघन उपचार कक्ष (आईसीयू) जस्ता संवेदनशील क्षेत्रमा यस्ता सङ्क्रमणको जोखिम बढी हुन्छ ।
५. जलवायु परिवर्तन तथा मानवीय गतिविधि ः जलवायु परिवर्तन, वातावरणीय असन्तुलन, द्वन्द्व तथा स्वास्थ्य पूर्वाधारको विनाशले पनि सङ्क्रामक रोग नियन्त्रणमा चुनौती थपेका छन् । यस्ता परिस्थितिमा सरसफाइ, स्वच्छ पानी र स्वास्थ्य सेवामा पहुँच कमजोर हुँदा प्रतिरोधी सूक्ष्मजीव फैलिने सम्भावना बढ्छ ।
एन्टिमाइक्रोबियल प्रतिरोधको प्रभाव
एन्टिमाइक्रोबियल प्रतिरोधले सामान्य सङ्क्रमणको उपचार मात्र होइन, आधुनिक चिकित्सा प्रणालीको प्रभावकारितामै चुनौती थपिरहेको छ । शल्यक्रियापछि हुने सङ्क्रमण, निमोनिया, मूत्रनली सङ्क्रमण, क्षयरोग तथा अन्य जीवाणुजन्य रोगको उपचार कठिन बन्दै जान सक्छ । औषधिले काम नगर्दा बिरामीलाई लामो समय अस्पतालमा राख्नुपर्ने, महँगा औषधि प्रयोग गर्नुपर्ने र उपचार खर्च बढ्ने अवस्था आउँछ ।
अस्पतालमा प्रतिरोधी रोगजनक फैलिँदा विशेषगरी कमजोर प्रतिरक्षा प्रणाली भएका बिरामी, वृद्धवृद्धा, नवजात शिशु तथा गम्भीर रोगका बिरामी बढी जोखिममा पर्छन् । यसले स्वास्थ्य संस्थामा सङ्क्रमणको प्रकोप निम्त्याउन सक्छ ।
अर्कोतर्फ, नयाँ एन्टिबायोटिक विकास गर्ने प्रक्रिया जटिल र खर्चिलो भएकाले औषधि प्रतिरोधको गतिसँगै नयाँ औषधि उपलब्ध गराउनु चुनौतीपूर्ण बनेको छ । सन् २०१७ यता प्राथमिकतामा राखिएका ब्याक्टेरिया रोगजनकलाई लक्षित गरी केही नयाँ एन्टिबायोटिकले नियामक स्वीकृति प्राप्त गरे पनि प्रतिरोधको समस्या निरन्तर विकसित भइरहेको छ ।
न्यूनीकरणका उपाय
एन्टिमाइक्रोबियल प्रतिरोध मानव स्वास्थ्यको मात्र समस्या होइन । यो मानव, पशु, वनस्पति तथा वातावरणबीचको अन्तरसम्बन्धसँग जोडिएको साझा चुनौती हो । त्यसैले यसको नियन्त्रणका लागि ‘वन हेल्थ’ अवधारणाअनुसार समन्वयात्मक प्रयास आवश्यक छ । वन हेल्थ अवधारणाले मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणीय स्वास्थ्यलाई एकअर्कासँग जोडेर हेर्छ । यसअनुसार निम्न उपाय प्रभावकारी हुन सक्छन् ।
१. एन्टिमाइक्रोबियल औषधिको विवेकपूर्ण प्रयोग ः मानव तथा पशु उपचारमा एन्टिबायोटिकको प्रयोग चिकित्सक र पशु चिकित्सकको सल्लाह तथा आवश्यकताअनुसार मात्र गर्नुपर्छ । औषधिको बिक्रीवितरणलाई नियमन गर्दै विना प्रिस्क्रिप्सन एन्टिबायोटिक उपलब्ध गराउने प्रवृत्ति नियन्त्रण गर्नुपर्छ ।
२. एन्टिमाइक्रोबियल स्टेवार्डशिप कार्यक्रम ः मानव स्वास्थ्य र पशुपालन दुवै क्षेत्रमा एन्टिमाइक्रोबियल औषधिको उचित छनोट, मात्रा, प्रयोग अवधि र प्रभावकारिताको अनुगमन गर्ने व्यवस्था आवश्यक छ । यसले अनावश्यक औषधि प्रयोग घटाउन सहयोग पु¥याउँछ ।
३. रोग निदान प्रणालीको सुधार ः लक्षणका आधारमा मात्र औषधि चलाउने प्रवृत्ति कम गर्न सूक्ष्मजीव पहिचान तथा औषधि संवेदनशीलता परीक्षणको पहुँच बढाउनुपर्छ । द्रुत तथा आणविक परीक्षण प्रविधिको विकास र विस्तारले रोगको सही पहिचान गरी लक्षित उपचार गर्न सहयोग गर्छ ।
४. पशुपालनमा जैविक सुरक्षा र सरसफाइ ः पशुपालन तथा कृषि फार्ममा सरसफाइ, स्वच्छ पानी, उचित आहार, खोर व्यवस्थापन र जैविक सुरक्षाका मापदण्ड कडाइका साथ लागू गर्नुपर्छ । पशुमा रोग लाग्न नदिन खोप कार्यक्रमलाई प्रभावकारी बनाउनुका साथै सङ्क्रमित पशुको उचित व्यवस्थापन गर्नुपर्छ । यसले औषधिको आवश्यकता नै कम गर्न मद्दत गर्छ ।
५. वातावरणीय व्यवस्थापन ः अस्पताल, औषधि उद्योग तथा पशुपालन फार्मबाट निस्कने फोहोर र फोहोर पानीको उचित प्रशोधन गर्नुपर्छ । वातावरणमा एन्टिबायोटिक अवशेष तथा प्रतिरोधी सूक्ष्मजीव फैलिन नदिन प्रभावकारी निगरानी र व्यवस्थापन प्रणाली विकास गर्न आवश्यक छ ।
६. अनुसन्धान र वैकल्पिक उपचारको विकास ः औषधि प्रतिरोधी सुपरबगसँग जुध्न नयाँ एन्टिबायोटिक, औषधिको प्रभावकारी संयोजन तथा वैकल्पिक उपचार विधिको अनुसन्धानलाई प्राथमिकता दिनुपर्छ । यस क्षेत्रमा वैज्ञानिक अनुसन्धान, प्रविधि विकास र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ ।
७. जनचेतना र निगरानी प्रणालीको विस्तार ः एन्टिबायोटिकको जथाभावी प्रयोगले पार्ने असरबारे आम नागरिक, किसान, पशुपालक, स्वास्थ्यकर्मी तथा औषधि व्यवसायीलाई सचेत गराउनुपर्छ । विश्व स्वास्थ्य सङ्गठनको ग्लोबल एन्टिमाइक्रोबियल रेजिस्टेन्स एन्ड युज सर्भिलेन्स सिस्टम जस्ता निगरानी प्रणालीलाई प्रभावकारी बनाउँदै स्थानीय तहसम्म विस्तार गर्नुपर्छ ।
निष्कर्षमा भन्नुपर्दा एन्टिमाइक्रोबियल प्रतिरोध केवल चिकित्सा विज्ञानको समस्या होइन, यो मानव सभ्यता, खाद्य सुरक्षा, पशु स्वास्थ्य र वातावरणीय सन्तुलनसँग जोडिएको गम्भीर चुनौती हो । यसको प्रभावकारी नियन्त्रणका लागि सरकार, स्वास्थ्य संस्था, पशु सेवा क्षेत्र, कृषि क्षेत्र, औषधि व्यवसायी, अनुसन्धानकर्ता र आम नागरिकबीच समन्वय आवश्यक छ ।
एन्टिबायोटिक मानव जातिले प्राप्त गरेको अमूल्य वैज्ञानिक उपलब्धि हो । यसको प्रभावकारिता जोगाउनु आजको मात्र होइन, भावी पुस्ताको स्वास्थ्य सुरक्षासँग पनि जोडिएको विषय हो । त्यसैले औषधिको विवेकपूर्ण प्रयोग, रोगको सही निदान, प्रभावकारी निगरानी, स्वच्छता, जैविक सुरक्षा र वैज्ञानिक अनुसन्धानलाई प्राथमिकता दिनुपर्छ ।
‘वन हेल्थ’ अवधारणालाई व्यवहारमा लागू गर्दै मानव, पशु र वातावरणीय स्वास्थ्यबीचको सहकार्यलाई बलियो बनाउन सके मात्र एन्टिमाइक्रोबियल प्रतिरोधको बढ्दो जोखिम न्यूनीकरण गर्न सकिन्छ । अन्यथा, सामान्य सङ्क्रमणसमेत उपचार गर्न नसकिने अवस्था सिर्जना हुन सक्छ । त्यसैले एन्टिमाइक्रोबियल प्रतिरोधविरुद्धको लडाइँ आजैबाट सुरु गर्नु अपरिहार्य छ ।
