झापा, ८ कात्तिक । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीको सीमा क्षेत्रमा निर्माण गरिएको सौर्य विद्युतीय घेराबारा तोडेर जङ्गली हात्तीको बथान नेपाल प्रवेश गर्न थालेपछि स्थानीयवासीमा त्रास बढेको छ ।
साँझ परेपछि विद्युतीय घेराबारा र सुरक्षाकर्मीको निगरानी छल्दै ठूलो सङ्ख्यामा हात्ती नेपाल प्रवेश गर्ने गरेका छन् । मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

खेतमा काटेर राखिएको धानको पाँजा र कुन्यु हात्तीले नष्ट गर्न थालेपछि किसान थप चिन्तित बनेका छन् । हात्तीको प्रवेश रोक्न सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन रक्षकको टोली खटिए पनि बथान रोक्न नसकिएको वडाध्यक्ष कार्कीले बताए ।
यसअघि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सुरक्षा निकायका प्रमुखसहित बाहुनडाँगीका सीमावर्ती क्षेत्रको अनुगमन गरी किसानलाई समयमै धान भित्र्याउन आग्रह गरेका थिए । त्यसपछि सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीय स्वयंसेवक किसानलाई धान काट्न सघाउने अभियानमा समेत जुटेका थिए ।
भारतको दार्जिलिङ र जलपाइगुढी जिल्लास्थित महानन्दा वन्यजन्तु आरक्षबाट सयको हाराहारीमा जङ्गली हात्ती मेची नदी तरेर बाहुनडाँगी प्रवेश गर्ने गरेका छन् । विशेषगरी धान र मकै पाक्ने मौसममा आउने हात्तीको बथानले यस क्षेत्रमा वर्षौंदेखि बालीनालीसँगै जनधनमा क्षति पुर्याउँदै आएको छ ।

