झापा, १३ मंसिर । सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लब दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको च्याम्पियन बनेको छ । झापाको दुधेस्थित खेलमैदानमा शुक्रबार सम्पन्न फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।
उपाधिसँगै एपीएफले ११ लाख रुपैयाँ नगद र ट्रफी प्राप्त गरेको छ भने उपविजेता आर्मीले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि नतिजाका लागि टाइब्रेकरको सहारा लिनुपरेको थियो । फाइनल खेलको प्लेयर अफ द म्याच एपीएफकी गोलरक्षक एञ्जिला तुम्बापो घोषित भइन् । उनले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ९ गोल गरेकी एपीएफकी रश्मिकुमारी घिसिङ सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। उनले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाइन् ।
त्यस्तै, उत्कृष्ट गोलरक्षक एञ्जिला तुम्बापो, उत्कृष्ट मिडफिल्डर रेनुका नगरकोटी, उत्कृष्ट डिफेन्डर गीता राना र उत्कृष्ट प्रशिक्षक जिवेसकुमार पाण्डे घोषित भए। उत्कृष्ट फरवार्डको उपाधि भने आर्मीकी चन्द्रा भण्डारीले प्राप्त गरिन्। सर्वाधिक गोलकर्ताको पुरस्कार पनि रश्मिकुमारी घिसिङले नै पाइन्। विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
मंसिर ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल, भारत र भुटानका गरी आठ टोलीको सहभागिता थियो। प्रतियोगितामा भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको गेसपुर फुटबल एकेडेमी, आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, झापा–११ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लब सहभागी थिए ।
विजेता तथा उपविजेता टोलीलाई प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, एन पेनाङ एफसीका उपाध्यक्ष नेत्रनारायण श्रेष्ठ, मुख्य प्रायोजक एक्स्ट्रिमका प्रतिनिधि राजन मल्लिक, झापा–११ एफसीका अध्यक्ष जलकुमार गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।

