झापा, १३ मंसिर । झापाको बिर्तामोडस्थि बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आगामी नेतृत्वका लागि मंसिर १४ गते निर्वाचन हुँदैछ । संस्थाको भावी नेतृत्वका लागि छ वटा दल दुई वटा प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्त रूपमा राष्ट्रवादी प्रजातान्त्रिक प्यानल गठन गरी पारसमणि मैनालीको नेतृत्वमा चुनावी मैदानमा होमिएको छ भने देवेन्द्र सिटौलाको नेतृत्वमा नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस देउवा पक्षधर र श्रम संस्कृति पार्टीको स्वतन्त्र समावेशी समूह चुनावी मैदानमा होमिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्वतन्त्र समावेशी समूहसँग मिसिएर चुनावी मैदान उत्रिने चर्चा चले पनि हाल उक्त पार्टी ‘न्यूटल’ बनेको छ ।

स्वतन्त्र समावेशी समूहले भने रास्वपा आफ्नो प्यानल नरहे पनि साथ र समर्थन आफूहरुकै पक्षमा रहेको दाबी गरिरहेको छ । को कसको पक्षमा हुने हो चुनावी परिणामले देखाला नै । दुवै प्यानल यतिबेला मतदातको घरदैलोमा मत माग्न व्यस्त रहेकाले मतदाताले कसलाई छान्ने हो हेर्न बाँकी नै छ ।
राष्ट्रवादी प्रजातान्त्रिक प्यानलको तर्फबाट उपाध्यक्षमा शैलेन्द्र सिटौला, सचिवमा खगेन्द्र थापा र कोषाध्यक्षमा आनन्द गुरुङ उम्मेदवार छन् । सदस्यमा विरणकुमार कोइराला, विकास रिजाल, महिला सदस्यमा कमला अग्रवाल, किरण सुब्बा र सोना श्रेष्ठ उम्मेदवार बन्नुभएको छ ।
स्वतन्त्र समावेशी समूहको तर्फबाट उपाध्यक्षमा नन्दबहादुर तामाङ (सुवास), सचिवमा प्रदीप खरेल र कोषाध्यक्षमा केशव श्रेष्ठले उम्मेदवार छन् । त्यस्तै, सदस्य पदमा पुनम अधिकारी (लिम्बू), निर्मला खरेल (ओडारी), गंगादेवी कन्दङ्वा, गजेन्द्र ओली र रामचन्द्र प्रसाईं उम्मेदवार रहेका छन् ।
अध्यक्ष पदका उम्मेदवार देवेन्द्र सिटौलाले खानेपानी सेवालाई सहज, सुलभ र व्यवस्थित बनाउने योजनासहित १७ बुँदे प्रतिबद्धताका साथ चुनावी अभियानमा जुटेको बताउनुभयो । आफू संस्थाको सदस्य पदमा रहँदा सुधारका लागि विभिन्न योजना ल्याए पनि सुनुवाइ नभएकाले अध्यक्षमा उम्मेदवार बनेको बताउनुभयो । स्वतन्त्र समावेशी समूहले खानेपानी सेवालाई उपभोक्तामैत्री बनाउनेदेखि पूर्वाधार विस्तार र आर्थिक पारदर्शितासम्मका योजना अघि सारेको बताउनुहुँदै उहाँले खानेपानीको न्यूनतम युनिट १० बाट बढाएर २० युनिट पु¥याउने, मिटर जडान शुल्क घटाएर पाँच हजार रुपैयाँ कायम गर्ने योजना रहेको सुनाउनुभयो ।
अध्यक्षका उम्मेदवार मैनालीले आफूले संस्थामा दुई कार्यकाल सदस्य र पछिल्लो कार्यसमितिमा सचिवका रूपमा काम गरेको अनुभवका आधारमा नेतृत्वका लागि उम्मेदवारी दिएको बताउनुभयो । उहाँले बिर्तामोड खानेपानीलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी बनाइने बताउनुभयो ।
मंसिर १४ गते हुने मतदानबाट संस्थाको कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र पाँच सदस्य गरी नौ जना निर्वाचित हुनेछन् । बिर्तामोड खानेपानीका कार्यालय प्रमुख खड्गराज गिरीका अनुसार संस्थामा हाल १० हजार ८३३ जना उपभोक्ता रहेका छन् ।

