बिर्तामोड, १३ मंसिर । वडास्तरमा रहेका खेल प्रतिभाको पहिचान, विकास र प्रवर्द्धन गर्ने उद्देश्यले वडा खेलकुद विकास समिति बिर्तामोड–१ ले पहिलोपटक टोलस्तरीय कराँते र ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ ।
खेलकुदका विधामा विविधता थप्दै समितिले यसपटक कराँते र ब्याडमिन्टनलाई समेटेको हो । यसअघि समितिले फुटबल र क्रिकेट प्रतियोगिता सञ्चालन गर्दै स्थानीय खेलाडीको प्रतिस्पर्धात्मक क्षमता विकासमा योगदान पुर्याउँदै आएको थियो ।

प्रतियोगिताअन्तर्गत शनिबार वडा कार्यालयको सभाहलमा सम्पन्न कराँते प्रतिस्पर्धामा बीटीएम कराँते स्पोर्ट्स प्रथम भएको छ । आयोजक बिर्तामोड कराँते वडा डोजो दोस्रो तथा सीईएस टिम तेस्रो भएका छन् ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सुसंज्ञा गौतम र आयन कटुवाल बेस्ट फाइटर घोषित हुँदै पुरस्कृत भएका छन्। विभिन्न तौल समूहमा विजयी खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
वडा अध्यक्ष अग्निप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय कराँते स्वर्ण पदक विजेता मीना पाठक, एमाले वडा कमिटी अध्यक्ष सुनिल शिवाकोटी, प्रदेश कमिटी सदस्य डम्बर बस्नेत, अधिवक्ता अर्जुनकुमार बस्नेत र नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेलगायतले विजयी खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रवक्तासमेत रहेका वडा अध्यक्ष पाण्डेले वडाका विभिन्न टोलमा छरिएर रहेका खेल प्रतिभाको पहिचान र विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनले यस्ता प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा वडा खेलकुद विकास समितिकी उपाध्यक्ष सुष्मा कार्कीले स्वागत गरेकी थिइन्। समितिका कार्यवाहक अध्यक्ष पुष्प भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडासदस्यहरू योगचन्द्र आङबोहाङ, कमला महरा दर्जी, टेकबहादुर अधिकारी, कराँते प्रशिक्षक मीना उप्रेतीलगायत विभिन्न वडाका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

