भद्रपुर, १३ मंसिर । झापाको भद्रपुर नगरपालिका–३ का वडाध्यक्ष हेमबहादुर कार्की (सन्तु) ले आफूले प्राप्त गर्ने भत्ताको रकम खर्च गरेर शनिबार वडाका २०० जना ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमण तथा वनभोज कार्यक्रममा सहभागी गराउनुभएको छ ।
वडाध्यक्ष कार्कीले ज्येष्ठ नागरिकहरूलाई मेचीनगरस्थित पाउ पाथीभरा मन्दिर, इलामस्थित पाथीभरा मन्दिर तथा कन्यामको भ्रमण गराउनुभएको हो । धार्मिक स्थलको अवलोकनसँगै इलाममा वनभोज कार्यक्रमसमेत आयोजना गरिएको छ ।

वडाध्यक्ष कार्कीले चुनावी अभियानका क्रममा ज्येष्ठ नागरिकहरूलाई भ्रमण गराउने प्रतिबद्धता जनाउनुभएको थियो । सोही प्रतिबद्धताअनुसार निर्वाचित भएको पाँचौँ वर्षसम्म निरन्तर पाँचौँ पटक ज्येष्ठ नागरिकहरूलाई भ्रमणमा सहभागी गराएको उहाँले बताउनुभयो ।

ज्येष्ठ नागरिकको सेवा र सम्मान गर्ने पवित्र उद्देश्यले आफ्नै भत्ताको रकम खर्च गरेर कार्यक्रम आयोजना गर्दै आएको उहाँको भनाइ छ । ‘यो आउने चुनावका लागि यसो गर्यो भन्ने नसम्झिनुहोला’, उहाँले भन्नुभयो, ‘यो चुनावका लागि होइन, ज्येष्ठ मातापिताको सेवा र सम्मानका लागि हो ।’
भ्रमणका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका भद्रपुर नगर अध्यक्ष तथा उद्योग वाणिज्य संघ झापाका कार्यवाहक अध्यक्ष राजकुमार राईले भ्रमणमा सहभागी ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्नुभएको थियो । उहाँले ज्येष्ठ नागरिकको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा पनि उहाँहरूका लागि सक्दो सहयोग गर्ने बताउनुभयो ।
धार्मिक स्थलको अवलोकन भ्रमण तथा वनभोज कार्यक्रम सम्पन्न भएपछि सबै ज्येष्ठ नागरिकलाई सुरक्षित रूपमा घरघरमै पु¥याइने वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो । भ्रमणमा सहभागी ज्येष्ठ नागरिकहरूको स्याहारसुसार र सहजताका लागि करिब ३५ जना स्वयंसेवकसमेत परिचालन गरिएको छ ।
भद्रपुर–३ मा वडाध्यक्ष कार्कीसँगै वडा सदस्य पूर्णमाया सुब्बा लिम्बू, मोदीलाल गणेश, भुवामाया थापा पुलामी, शोमा दर्जीले वडाबासीलाई सेवा प्रदान गरिरहेका छन् ।
