बिर्तामोड, १३ मंसिर । आयोजक बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले प्रथम वडाध्यक्ष टी–१० क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ।
महेन्द्र रत्न माध्यमिक विद्यालयको खेल मैदानमा भएको फाइनल प्रतिस्पर्धामा वडा नम्बर ३ लाई २४ रनले पराजित गर्दै वडा नम्बर ४ ले घरेलु मैदानमै ऐतिहासिक उपाधि जित्न सफल भएको हो।

उपाधिसँगै वडा नम्बर ४ ले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता वडा नम्बर ३ ले नगद २० हजार रुपैयाँमा चित्त बुझाएको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको वडा नम्बर ४ ले निर्धारित १० ओभरमा पाँच विकेट गुमाउँदै ९६ रनको प्रतिस्पर्धात्मक योगफल खडा गरेको थियो। वडा नम्बर ४ को इनिङ्स उकास्ने क्रममा दीपक चौधरीले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ६१ रनको उत्कृष्ट पारी खेले। उनलाई कैलाश राईले २९ रन जोड्दै दरिलो साथ दिएका थिए ।
बलिङतर्फ वडा नम्बर ३ का अश्विन शर्मा र समीर अधिकारीले समान दुई–दुई विकेट हात पार्दा राजेश महतोले एक विकेट लिएका थिए।
जितका लागि ९७ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको वडा नम्बर ३ ले निर्धारित १० ओभरमा आठ विकेट गुमाएर ७२ रन मात्रै बनाउन सक्यो। उसका ब्याट्सम्यानहरूले लक्ष्य भेट्टाउन संघर्ष गरे पनि वडा नम्बर ४ का बलरहरूको कसिलो बलिङसामु टोली निरीह बन्यो।
वडा नम्बर ३ का दीपेन चौधरीले १९ तथा अश्विन शर्माले १७ रनको योगदान दिए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन। वडा नम्बर ४ का सक्षम चापागाईं, अमिर ओझा, विदेश सिग्देल र शंकर बिमलीले समान दुई–दुई विकेट लिएपछि वडा नम्बर ४ ले २४ रनको सहज जितसहित उपाधि आफ्नो पक्षमा पार्न सफल भयो। फाइनल खेलमा उत्कृष्ट ब्याटिङ गरेका वडा नम्बर ४ का दीपक चौधरी म्यान अफ द म्याच घोषित भए।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ वडा नम्बर ४ का सक्षम चापागाईं उत्कृष्ट फिल्डर, विदेश चापागाईं इमर्जिङ प्लेयर घोषित भए। त्यसैगरी वडा नम्बर ४ कै उत्कृष्ट ब्याट्सम्यान इशान डाँगी, उत्कृष्ट विकेटकिपर भीष्मराज गौतम घोषित भएका थिए। प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी ९म्यान अफ द सिरिज० वडा नम्बर ३ का अश्विन शर्मा घोषित भए।
यसअघि सम्पन्न सेमिफाइनल प्रतिस्पर्धामा वडा नम्बर ४ ले वडा नम्बर २ लाई ६ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। उक्त खेलमा वडा नम्बर २ ले प्रस्तुत गरेको ६९ रनको लक्ष्य वडा नम्बर ४ ले चार विकेट गुमाएर पूरा गरेको थियो। सो खेलमा वडा नम्बर ४ का सक्षम चापागाईं म्यान अफ द म्याच घोषित भएका थिए।
त्यस्तै, अर्को सेमिफाइनलमा वडा नम्बर ३ ले वडा नम्बर १० लाई आठ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो। पहिले ब्याटिङ गरेको वडा नम्बर ३ ले निर्धारित १० ओभरमा ९९ रन बनाउँदै वडा नम्बर १० सामु १०० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
जवाफमा वडा नम्बर १० ले पूरै १० ओभर खेल्दै तीन विकेटको क्षतिमा ९२ रन मात्रै बनाउन सक्यो। निर्धारित लक्ष्य पूरा गर्न नसकेपछि वडा नम्बर ३ आठ रनको रोमाञ्चक जित निकाल्दै फाइनल प्रवेश गरेको थियो। उक्त खेलमा वडा नम्बर ३ का मुकेश गौतम म्यान अफ द म्याच घोषित भएका थिए।
बिर्तामोड नगरपालिका वडा नम्बर ४ को आयोजनामा सम्पन्न प्रथम वडाध्यक्ष टी–१० क्रिकेट प्रतियोगितामा नगरपालिकाका १० वटै वडाका क्रिकेट टोलीको सहभागिता रहेको थियो। वडास्तरमा क्रिकेट खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदमार्फत वडाहरूबीच आपसी सम्बन्ध र भाइचाराको अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगिताको समापन समारोहमा बिर्तामोड नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष राहुल शर्मा, वडा सदस्य उमेश राउत, आयोजक समितिका अध्यक्ष चन्द्रशेखर मैनालीलगायत अतिथिहरूले विजेता तथा उपविजेता टोलीलाई पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।

