झापा, १३ मंसिर । झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित एक होटलमा छापा मार्दा तीन जना पक्राउ परेका हुन्। उनीहरूको साथबाट ३ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

त्यस्तै, बिर्तामोड नगरपालिका–५ जिराइत टोलबाट शनिबार साँझ एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्ने पार्वता राजवंशीको साथबाट १८ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो। प्रहरीले उनको कोठाबाट डिजिटल तराजु, छुरी, कैँची र नगद १३ लाख ३९ हजार रुपैयाँसमेत बरामद गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीका अनुसार पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–२ का २३ वर्षीय सचिन राई, दमक नगरपालिका–७ की ३० वर्षीया मिना राई, सोही स्थानकी २६ वर्षीया प्रतिमा राई र मेचीनगर नगरपालिका–१५ की ३६ वर्षीया पार्वता राजवंशी रहेका छन्।
पक्राउ परेका चारै जनामाथि लागूऔषध कारोबारसम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

