
बिर्तामोड, ३० पुस । १६औँ अनशन बस्न इलाम पुगेका डा. गोविन्द केसीको मागका विषयमा केसी समर्थक चिकित्सक र अधिवक्ताले प्रष्ट पारेका छन् । आइतबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै केसीका सहयोगी चिकित्सक डा. अभिषेकराज सिंह र अधिवक्ता सुरेन्द्र भण्डारीले केसी किन पुनः अनशन बसे, अनशनमा इलाम नै किन रोजे, माग केहो लगायतत विषयमा प्रष्ट पारेका हुन् ।
प्रस्तावित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धनविरुद्ध केसी अनसन बस्ने गरेको आवज उठ्नु दुखद पाटो भएको डा. सिंहले बताए । चिकित्सा शिक्षा विधेयकका लागि माथेमा कार्यदलले दिएको सुझावको सरकारले खिल्ली उडाएका कारण अहिले केसी अनसन बस्नु परेको उनले प्रष्ट पारे ।
१५ औँ अनशनका क्रममा भएको सम्झौतामा मेडिकल कलेजको आशयपत्र पाउनेको हकमा आयोग बनाएर सम्बन्धनको प्रक्रिया अगाडि बढाउने भनिएकाले बीएण्डसी अस्पतालको विषय त्यतिखेरै सकिएको र अहिले इलाम आएर अनशन बस्दा समेत बीएण्डसी र केसीलाई जोड्नु नहुने अधिवक्ता सुरेन्द्र भण्डारीले बताए ।
‘यो आन्दोलन बीएण्डसी तथा मनमोहनको विरुद्धमा होइन, चिकित्सा शिक्षा आयोगको नीति अनुसार सम्बन्धनको प्रक्रिया अगाडि बढाउने भनेर सम्झौतामा भनिएको छ’, भण्डारीले भने, ‘विज्ञहरुको सुझाव नमानिएकै कारण डा. केसीले ज्यानको बाजी राखेर बारम्बार अनशन बस्नुपरेको हो ।’
जुन क्षेत्रको कानून निर्माण गरिँदैछ त्यही क्षेत्रका विज्ञले दिएको सुझाव नमान्दा चिकित्सा क्षेत्र नै तहसनहसको अवस्थामा पुग्न लागेकाले अहिले इलाम पुगेर अनसन बस्नु परेको डा. सिंहको भनाइ छ । केसीसँग भएको सम्झौताको अक्षरस पालना हुन्छ भनेर सञ्चार माध्यम सामु भन्ने पूर्व सभामुख सुवास नेम्बाङ रहेको र अहिले पालना नहुँदा उनी पनि मौन बसेकाले ध्यानाकर्षका लागि पनि केसी इलाममा नै अनशन बस्न पुगेको उनको भनाइ छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

