
भद्रपुर, १३ फागुन । भद्रपुर नगरपालिका वडानम्बर १० ले हात्तीपाईले रोग सम्बन्धि एक दिने प्रशिक्षण सम्पन्न गरेको छ । वडाध्यक्ष टेकबहादुर खड्का काजीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्यकर्मीले सरोकारवालालाई प्रशिक्षण गरेका थिए ।
यसैगरी भद्रपुर नगरपालिका स्वास्थ्य शाखाले पनिं एक दिने अन्तरक्रियात्मक रूपमा हात्तीपाईले (फाईलेरिया) रोग निवारण सम्बन्धी जानकारी गराएको छ । कार्यक्रममा तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले वडाको प्रत्येक टोल टोलमा पुगेर घरदैलो मार्फत हात्तीपाइलेको निशुल्क औषधि खुवाइने जानकारी गराइएको थियो ।
विगत बर्षहरुमा महिला स्वास्थ्य स्वयम सेविकाहरुले तीन दिन सम्म औषधि खुवाउने गरेकोमा यस बर्षदेखि स्थानीय सरकारको मातहात कार्यक्रम आएकोले ७ देखि १० दिन सम्म औषधि खुवाउदै अभियान संचालन गरिने जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर (अधिकृत) जीवनकुमार चौलागाईले बताए । उनका अनुसार ७० बर्षमाथिका वृद्धवृद्धा, ७ दिन सम्मका सुत्केरी महिला, २ बर्ष मुनिका बालबालिका र दीर्घ रोगी बाहेकका सबैले व्यक्तिलाई यो औषधि अनिवार्य सेवन गर्नुपर्ने बताउँदै अन्तराष्ट्रिय मान्यता प्राप्त हात्तिपाईले रोगको औषधिमा डि.सी. र अल्बेण्डाजेल भएकोले यसले स्वास्थ्यमा खासै असर नगर्ने उनको भनाई छ ।
जिल्लाभर अघिल्लो बर्ष ८२ प्रतिशतलाई औषधि सेवन गराईएकोमा यस बर्ष भने ८५ प्रतिशत भन्दा माथि औषधि सेवन गराउने लक्ष्य रहेको जनाइएको छ । जिल्लाको ८ लाख भन्दा वढी मानिसलाई औषधी खुवाउने अभियान सञ्चालनका लागि झापामा ५ सय जना तालिम प्राप्त स्वास्थ्यकर्मी खटाइनेछ । भद्रपुर नगरपालिका नगर प्रमुख जीवनकुमार श्रेष्ठले हात्तीपाइले रोग सम्बन्धी औषधि सेवन गर्दा यसले स्वास्थ्यमा कुनै असर नगर्ने बताउँदै अभियानको क्रममा सबैले औषधि सेवन गरिदिन आग्रह गरे ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

