
बनियानी, १४ फागुन । झापामा ८२८ जनामा हात्तीपाइले रोगी रहेको छन् ।
जिल्लामा नयाँ र पुराना गरी ८२८ जना हात्तीपाइले रोगी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत जीवनकुमार चौलागाईंले जानकारी दिनुभयो । जसमध्ये १७९ जना हाइड्रोसिल भएका बिरामी रहेका छन् ।
यसैबीच, आजदेखि झापाका १५ वटै स्थानीय तह हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै छ । अघिल्लो वर्षसम्म तीन दिनसम्म औषधि खुवाइने गरेकोमा यस वर्षदेखि ७ देखि १० दिनसम्म औषधि खुवाइने अधिकृत चौलागाईंले बताउनुभयो ।
उहाँका अनुसार ७० वर्षमाथिका ज्येष्ठ नागरिक, ७ दिनसम्मका सुत्केरी, २ वर्ष मुनिका बालबालिका र दीर्घरोगीबाहेकका सबैलाई यो औषधि खुवाइने भएको भएको हो ।
गत वर्ष झापामा ८२ प्रतिशत मानिसले औषधि सेवन गरेका थिए भने यस वर्ष स्थानीय तहबाटै कार्यक्रम सञ्चालन गरिने भएकाले ९० प्रतिशतभन्दा बढीले औषधि सेवन गर्ने अपेक्षा गरिएको छ ।
यस वर्ष झापाका आठ लाख मानिसलाई हात्तीपाइले विरुद्धको औषधि खुवाउने लक्ष्य रहेको छ । औषधि खुवाउन पाँच सय जना तालिम प्राप्त स्वास्थ्यकर्मी खटाइने भएको छ ।
हात्तीपाइले लामखुट्टेको टोकाइबाट परजिवीबाट लाग्ने रोग हो । यो रोग मानिसमा लागिसकेपछि जीवनभर अशक्त र अपाङ्ग भएर बाँच्नुपर्ने हुन्छ । अशक्त अवस्था देखिएपछि यो रोगको कुनै उपचार छैन ।
जाडो हुने, ज्वरो आउने, शरीरमा काम्ने हुने, हातगोडामा निलाकाला धर्सा देखिने, गिर्खाहरु आउने र दुख्ने, हात–खुट्टा सुन्निने, पिसाब सेतो बाक्लो लेदो आउने, लामो समयसम्म सुख्खा खोकी लागिरहने, दम बढ्ने हात्तीपाइले रोगको लक्षण हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

