
अनिल वाग्ले
बुद्धशान्ति, १५ फागुन । झापाको बुद्धशान्ति गाउँपालिकामा ३५ प्रकारका औषधि भण्डार गरेर राखिएको छ । ती औषधि नागरिकलाई निशुल्क रुपमा वितरण गरिन्छ । नागरिकको स्वास्थ्यलाई मध्यनजर गरेर गाउँपालिकाले निशुल्क औषधि र स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । राज्यले प्रदान गर्ने औषधिको अभाव हुन नदिन गाउँपालिकाले पनि बजेट नै छुट्याएर थप औषधि खरिद गर्दै गाउँपालिका क्षेत्रका नागरिकलाई वितरण गर्दै आएको छ ।
‘अध्यक्षसँग जेष्ठ नागरिक’, ‘उपाध्यक्षसँग आमा समूह’ र ‘जनप्रतिनिधिसँग जनता कार्यक्रम’ लागू गरेर सोहि कार्यक्रम मार्फत स्वास्थ्य सेवा र औषधि पुर्याइरहेको छ । गाउँपालिकाले ३५ प्रकारका औषधि निशुल्क वितरण गर्न यी कार्यक्रम मार्फत प्रर्याप्त बजेट छुट्याएर नागरिकलाई औषधि वितरण गर्न प्रर्याप्त औषधि खरिद गरेर ठूलो गोदाममा नै राखेको छ ।
निशुल्क वितरण गर्ने औषधिमा यी कार्यक्रमको लोगो लगाएर व्यवस्थित वितरण प्रणाली अपनाएर सोहि अनुरुप वितरण कार्य गरिरहेको बुद्धशान्ति स्वास्थ्य शाखाका प्रमुख भोला अधिकारीले जनाएका छन् । स्वास्थ्य शाखाका उपप्रमुख दीपक सापकोटाले यी तीन कार्यक्रम माघ २१ गतेदेखि लागू भईसकेको जानकारी दिए ।
स्वास्थ्य क्षेत्रका लागि गाउँपालिकाले ८६ लाख रुपैंया विनियोजन गरेको छ, चालू आर्थिक वर्षका लागि । सशर्त सहितको रकम जोड्ने हो भने बुद्धशान्ति गाउँपालिकामा स्वास्थ्य शाखालाई १ करोड २७ लाख ८४ हजार रुपैँया प्राप्त छ । निःशुल्क औषधिका लागि मात्रै यस गाउँपालिकामा केन्द्र सरकारको ३ लाख सहित २८ लाख रुपैँया विनियोजन भएको छ । गाउँपालिकाले औषधिमा छुट्याएको २५ लाखमध्ये अध्यक्षसँग जेष्ठ नागरिक कार्यक्रमका लागि ४ लाख ५० हजार, उपाध्यक्षसँग आमा सुरक्षा कार्यक्रमका लागि ४ लाख पचासहजार, ‘जनप्रतिनिधिसँग जनता कार्यक्रम’ अन्तर्गत ३५ प्रकारका औषधि निःशुल्क वितरण गर्नका लागि ९ लाख, सर्जिकल सामान खरिदका लागि चारलाख पचासहजार र महामारी नियन्त्रणका लागि २ लाख ५० हजार रुपैँया विनियोजन भएको र सोहि विनियोजित रकमबाट यी कार्यक्रम लागू गरिएको स्वास्थ्य शाखाका दीपक सापकोटाले जनाएका छन् ।
स्वास्थ्यमा उल्लेख्य उपलब्धी हासिलको क्रममा रहेको बुद्धशान्ति गाउँपालिकामा दुईवटा स्वास्थ्य चौकी (एउटामा वर्थिङ सेन्टर पनि), सबै वडामा स्वास्थ्य इकाइ स्थापना भईसकेका छन् । स्वास्थ शाखाका दीपक सापकोटाका अनुसार खोकी, झाडा पखला, एन्टिवायोटिक, पेनकिलर, विभिन्न प्रकारका स्लाइन, कोलेस्ट्रोल, ज्वरो, निमोनिया, टाइफाइड, घाउ–खटिरा, आँखाको औषधि, छालासँग सम्बन्धित लुतो, दाद, चिलाउनेका औषधि, छारेरोग, प्रेसर, सुगर, क्षयरोग, पोषणसँग सम्बन्धित औषधि, भिटामिन ए, आइरन, निमोनिया, कुपोषण, मलेरिया, दादुरा, बालरोग सँग सम्बन्धित, परिवार नियोजनका ५ प्रकारका अस्थायी साधन लगायत विभिन्न रोगका औषधि निःशुल्क पाइन्छ । यी औषधिको कुनै अभाव हुन नदिने समेत उनले बताएका छन् ।
त्यस्तै उपाध्यक्षसँग आमा सुरक्षा कार्यक्रम अन्र्तगत बुद्धशान्ति गाउँपालिकाले प्रत्येक गर्भवती महिलालाई नेपाल सरकारले निःशुल्क वितरण गर्ने आइरन चक्कीका साथ क्याल्सियम पनि निःशुल्क वितरण गर्न थालेको छ । ‘एक गर्भवती महिलाले गर्भवती हुँदा २ सय २५ डोज क्याल्सियम खानुपर्छ । एक ट्याबलेटलाई ६ देखि ७ रुपैंया सम्म पर्छ त्यो गाउँपालिकाले निःशुल्क गरेको छ‘ सापकोटाले भने । एक ट्याबलेटको ६ रुपैंया मूल्य निर्धारण गर्दा एक गर्भवतीले १३ सय ५० रुपैंया क्याल्सियममा खर्च गर्नुपर्ने हुन्छ, त्यो निःशुल्क भएको छ ।
बुद्धशान्ति गाउँपालिकामा एक आ.व.मा अनुमानित गर्भवतीको संख्या १२ सय ३६ रहेको छ । यो कार्यक्रम लागू भएपछि यो आर्थिक वर्ष सकिँदा सम्म सबै गर्भवतीले यहीँबाट सेवा लिने हो भने ८ लाख बढी खर्च हुन्छ, यद्यपि पहिलो चरणमा ४ लाख ५० हजार यो शिर्षकमा खर्च गरिएको छ नपुग भए यहाँ बजेट थप गर्ने गरी कार्यक्रम ल्याइएको बताइएको छ ।
बुद्धशान्ति स्वास्थ्य शाखाका दीपक सापकोटाले चैत्र १५ भित्रमा गर्भवती महिलाहरुको गर्भ जाँचका निम्ति भिडियो एक्स–रे सेवा सुरु हुँदैछ । गर्भवती महिलाको गर्भजाँचका लागि भिडियो एक्स–रेको घुम्ति सेवा रहने छ । ८ लाख ५० हजारमा एक्स–रे मेसिन खरिद भईसकेको छ, यतिबेला प्राबिधिकको तालिम चलिरहेको छ । घुम्ति सेवा गरेर गर्भवती महिलाको स्वास्थ्य जाँच गरिने उनको भनाई छ ।
स्वास्थ्य चौकी शान्तिनगर प्रमुख मेनुका दाहालले बुद्धशान्ति गाउँ पालिकाले स्वास्थ्य क्षेत्रमा गरेको कार्य उदाहरणीय रहेको बताएकी छिन् । त्यस्तै गाउँपालिकाका अध्यक्ष रमेश भुजेल र उपाध्यक्ष मीरा भुर्तेलले गाउँपालिकाका सबै नागरिकको स्वास्थ्यमा विशेष ध्यान दिएर कार्यक्रम ल्याएको बताएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

