
भद्रपुर, १० चैत । मेचीनगर नगरपालिका–९ स्थित फारामटोलका १५ वर्षमाथिका सबैको क्षयरोग जाँच शुरु गरिएको छ ।
राष्ट्रिय क्षयरोग केन्द्रले क्षयरोगसम्बन्धी स्थलगत अध्ययन कार्य (प्रिभ्यालेन्स सर्वेक्षण) अन्तर्गत आजदेखि क्षयरोग सम्बन्धी जाँच शुरु गरेको हो ।
वडा अध्यक्ष गोपाल खड्काका अनुसार, यस टोलमा १५ वर्षमाथिका ६०६ जना रहेका छन् । ती सबैजनालाई क्षयरोगको जाँच गर्न शिविरको आयोजनाा गरिएको छ । स्थानीय मेचीनगर बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा राष्ट्रिय क्षयरोग केन्द्रले खडा गरेको सर्वेक्षण शिविरमा बिहानैदेखि स्वास्थ्य परीक्षणका लागि सर्वसाधारणको घुइँचो लागेको छ ।
केन्द्रका फिल्ड व्यवस्थापक केशवराज पाण्डेले उपचारको दायरामा नआइरहेका क्षयरोगका बिरामी कति छन् र तिनलाई कसरी समेट्ने भन्ने राष्ट्रिय रणनीति बनाउन झापाको तीन ठाउँसहित मुलुकभर ५५ जिल्लाको ९९ क्लस्टरमा सर्वेक्षण कार्य भइरहेको बताउनुभयो ।
झापाको टाघनडुब्बा, शनिश्चरे र मेचीनगरमा सर्वेक्षण कार्य गरिएको हो । टाघनडुब्बामा ६०० र शनिश्चरेमा ६०० जनाको सर्वेक्षण पूरा भइसकेको उहाँले जानकारी दिनुभयो । सर्वेक्षण टोलीमा दुई चिकित्सक, दुई रेडियोग्राफर, दुई ल्याब टेक्निसियन, तीन स्टाफ नर्ससहित २५ जना कर्मचारी परिचालन भएका छन् ।
टोलीले क्षयरोग परीक्षणका लागि डिजिटल एक्स–रे मेशिन, कम्प्युटर, खकार र रगत जाँच्ने ल्याबसहित सूचना प्रविधिको अत्याधुनिक साधन प्रयोगमा ल्याउने गरेको छ । सर्वेक्षणमा परेका टोलवासीलाई शिविरमै सम्पूर्ण जाँच गर्ने व्यवस्था मिलाइएको छ ।
नेपालमा क्षयरोग उन्मूलनका लागि अभियान थालिएको आधा शतक पूरा भइसक्दा पनि रोग निर्मूल हुन सकेको छैन । विश्व स्वास्थ्य सङ्गठनले नेपालमा बर्षेनी ४२ देखि ४५ हजारसम्म क्षयरोगका बिरामी थपिने गरेको जनाउँदै आएको छ । तर तीमध्ये ३० देखि ३२ हजार बिरामी मात्र उपचारको दायरामा आउने गरेका छन् ।
राष्ट्रिय सर्वेक्षणबाट प्राप्त तथ्याङ्कका आधारमा उपचारको दायरामा नआएका १० देखि १२ हजार क्षयरोगीलाई समेट्न प्रभावकारी रणनीति तर्जुमा गरिने केन्द्रका फिल्ड व्यवस्थापक पाण्डे बताउनुभयो ।
सर्वेक्षणमा खटिएका टोलीले केही दिनअघि नै मेचीनगर–९ को फारामटोलको घरघरै पुगेर ६०६ जनालाई सर्वेक्षणमा सहभागिताको परिचयपत्र प्रदान गरिसकेको थियो । सर्वेक्षणमा सहभागी भएपश्चात् उहाँहरुलाई रु ५० को नेपाल टेलिकमको मोबाइल रिचार्ज कार्ड र टी–सर्ट दिने गरिएको छ ।
“गाउँका सबैलाई एकैचोटि बोलाउँदा शुरुमा त अचम्मै लाग्यो”, क्षयरोग सर्वेक्षणका सहभागी ८५ वर्षीय मानबहादुर कार्की डोलीले भन्नुभयो, “टिबी जाँच्न पो रै’छ भन्ने थाहा भएपछि घरका सबै आयौँ ।” चिकित्सकले एक्स–रे गर्दा छातीमा दाग देखिएको जनाएपछि खकारसमेत जाँच गरेको उहाँले बताउनुभयो ।
मेचीनगरमा चैत १०, ११ र १२ गते तीन दिनसम्म क्षयरोगको सर्वेक्षण शिविर सञ्चालन गरिने बताइएको छ ।
सन् २०१८ को जनवरीदेखि शुरु भएको सर्वेक्षण कार्यअन्तर्गत देशभरका ६० हजारको खकार तथा छातीको परीक्षण स्थलगतरूपमा गरिने भएको छ । पछिल्लो समय क्षयरोग उन्मूलन कार्य चुनौतीपूर्ण बन्दै गएको हुँदा यो रोग निको पार्न प्रयोग हुने औषधिको उपयोगिताजस्ता महत्वपूर्ण क्षेत्रमा समेत नयाँ सूचक पत्ता लगाउन सर्वेक्षण महत्वपूर्ण हुने केन्द्रका व्यवस्थापक पाण्डेको भनाइ छ ।
चार कैदीबन्दी र दुई न्यून दृष्टियुक्त व्यक्तिले दिए परीक्षा
आजदेखि शुरु भएको माध्यमिक तहको परीक्षा ९एसइई०मा झापाबाट चार कैदीबन्दी र दुई न्यून दृष्टियुक्त व्यक्ति सामेल भएका छन् ।
कैदीबन्दीले झापा जिल्ला कारागारबाट नै परीक्षा दिएको शिक्षा विकास तथा समन्वय एकाई झापाका प्रमुख योगेन्द्र बरालले बताउनुभयो । झापाकै दुई बाल कैदीबन्दीले भने बाल सुधारगृह सानोठिमीबाट परीक्षा दिइरहेका छन् ।
कारागारभित्र रहेका बन्दी विकास पुस्तकालयमा बसेर कैदीबन्दीले परीक्षा दिएका थिए । डिल्लीराज मावि कचनकवल र अनारमनी माविबाट एक–एक न्यून दृष्टियुक्त व्यक्ति तथा बुद्धआदर्श मावि, पथरिया मावि कचनकवल, हिमाली मावि पृथ्वीनगरबाट एक–एक जना अपाङ्गता भएका विद्यार्थी परीक्षामा सामेल भएको प्रमुख बरालले बताउनुभयो ।
त्यसैगरी सरस्वती मावि जामुनखाडी परीक्षा केन्द्रबाट ६ जना सुस्तश्रवण भएको व्यक्तिले परीक्षा दिएका छन् । उनीहरु सबै कनकाई मावि सुरुङ्गाका विद्यार्थी हुन् । झापाबाट ५३ वटा केन्द्रमा १५ हजार ५८७ विद्यार्थी परीक्षामा सामेल भएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

