
रूपेन्द्र शेर्मा
उर्लाबारी, २६ चैत । प्राणघातक रोग क्यान्सरसम्बन्धी तीन दिने स्वास्थ्य शिविर सोमबारदेखि मोरङको उर्लाबारीमा सुरु भएको छ ।
बी.पी.कोइराला मेमेरियल क्यान्सर अस्पताल भरतपुरको प्राविधिक सहयोगमा अरनिको अस्पताल उर्लाबारी र उर्लाबारी नगरपालिकाको संयुक्त आयोजनामा भएको सो शिविरमा विशेषगरी महिलाहरुको पाठेघर, स्तन र मुखको क्यान्सर रोगसम्बन्धी निदान गरिनेछ । सो शिविरको उद्घाटन प्रदेश–१ का प्रदेश प्रमुख प्रा.डा.गोविन्द तुम्बाहाङले गरे ।
शिविर उद्घाटन गर्दै प्रा.डा.तुम्बाहाङले यो शिविर उपयोगी र महत्वपूर्ण भएको विचार व्यक्त गरे । क्यान्सरका कारण रोगीलाई अत्यन्तै पीडादायी हुने र रोग निको हुन नसकी रोगीले मृत्युवरण गर्ने उल्लेख गर्दै प्रा.डा.तुम्बाहाङले यो रोग लाग्नु पूर्व सावधानी अपनाउनु बुद्धिमानी हुने बिचार व्यक्त गरे ।
बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालका क्यान्सर नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख डा.भोला शिवाकोटीले क्यान्सर फैलनु अगावै त्यसको निदान हुन सकेमा क्यान्सर रोगबाट बच्न सकिने उल्लेख गरे । वंशाणुगत भन्दा बाह्रय कारणले क्यान्सरको उच्च जोखिम उत्पन्न हुनेगरेको बताउँदै उनले यस किसिमको शिविरबाट जनचेतना अभिबृद्धि हुने विश्वास व्यक्त गरे । सुर्तिजन्य पदार्थ र मादक पदार्थ सेवनका साथै बाली उत्पादनमा बढ्दो रासायनिक मलको प्रयोगका कारण क्यान्सरको खतरा बढ्नेगरेकोतर्फ सचेत गराउँदै डा.शिवाकोटीले प्राकृतिक खानपीन र सन्तुलित जीवनशैलीबाट क्यान्सरबाट बच्न सकिने बताए ।
अरनिको अस्पतालका अध्यक्ष लोलिम पोमुको अध्यक्षतामा भएको सो शिविर उद्घाटन कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो, उपप्रमुख लक्ष्मीदेवी भण्डारीलगायतले बोलेका थिए ।
शिविरमा लेटाङ नगरपालिका, पथरीशनिश्चरे नगरपालिका, रतुवामाई नगरपालिका, मिक्लाजुङ गाउँपालिका, कानेपोखरी गाउँपालिका र क्यान्सर सूचना केन्द्रको समेत सहयोग रहेको अस्पतालका प्रबन्ध निर्देशक चिरञ्जीवी चुँडालले जानकारी दिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

