
भद्रपुर, २८ असार । झापा मुलुकको ५०औँ पूर्ण खोप सुनिश्चित जिल्ला बनेको छ ।
झापाको भद्रपुरमा बुधबार आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले झापालाई पूर्ण खोप सुनिश्चित जिल्ला भएको घोषणा गर्नुभयो ।
खोप नैसर्गिक अधिकार भएको बताउँदै उहाँले भविष्यको कर्णधारका रुपमा रहेका कुनै पनि बालबालिका खोपबाट बञ्चित हुनु नहुने बताउनुभयो ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य झापाका बरिष्ठ जनस्वास्थ्य प्रमुख मधुसूधन कोइरालाले कार्यपत्र प्रस्तुत गर्दै २५३ वटा खोप केन्द्रबाट झापामा बर्सेनि १९ हजार ८३५ जना बालबालिका खोप लगाउने जानकारी दिनुभयो ।
‘सरकारको बहुबर्षिय खोप योजना अन्तरगत ९० प्रतिशत भन्दा बढी बालबालिकालाई खोपको पहुँचमा ल्याउने लक्ष्य लिएको छ’, उहाँले भन्नुभयो, ‘सन् २०१७ देखि सन् २०२१ सम्ममा खोपको माध्यमबाट रोकथाम गर्न सकिने बिरामी, मृत्यु तथा अपाङ्गता दर घाउनुका साथै पूर्ण खोपयुक्त मुलुक बनाउने सरकारको लक्ष्य छ ।’
जिल्लामा खोपको पहुँच शत्प्रतिशत पु¥याउने अभियान अन्तरगत आर्थिक वर्ष २०७४÷०७५ मा १७ हजार ३६० बालबालिकालाई खोप लगाई र छुटेका २०६ जनालाई पुनः खोप लगाएर झापालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।
जिल्लालाई पूर्ण खोप सुनिश्ति बनाउन १५ वटै स्थानीय तह, सरकारी तथा निजी स्वास्थ्य संस्था गरी ३० वटाभन्दा बढी संघसंस्थाले हातेमालो गरेको जनस्वास्थ्यले जनाएको छ ।
पूर्ण खोप सुनिश्चितता अभियान झापामा २०७२ बैशाख ९ गते साविक धाइजन गाविसबाट सुरु भएको थियो । झापा पूर्ण खोप सुनिश्चित हुने मुलुकभरको ५० औँ जिल्ला हो भने प्रदेश नं. १ को ११औँ जिल्ला हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

