
सन्तोष शर्मा
झापा, २८ असार । झापाको मेचीनगर–१४ चारआलीस्थित प्रगति सामुदायिक वनमा रहेको पाउपाथिभरा मन्दिर धार्मिक पर्यटकीयस्थलको रुपमा विकास हुँदै गएको छ ।
वन संरक्षण गर्ने उद्देश्यले २०७० सालमा स्थापना गरिएको पाउपाथिभरा यतिबेला धार्मिक पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको हो । ‘वनको विजोग भएपछि संरक्षणका लागि मन्दिर स्थापना गरेका थियौँ’, पाथिभरा मन्दिर सञ्चालक समितिका अध्यक्ष हरिचरण बानियाँले भन्नुभयो, ‘मेरो अगुवाईमा मन्दिर स्थापना भएको हो ।’
झापा बाहुनडाँगीका तान्त्रिक हरिश्चन्द्र दाहाललाई वनमा ल्याएर देखाउँदा एउटा रुख देखाउँदै त्यसमा भद्रकाली देवी, सरस्वती र शिवको बास भएको बताएको अध्यक्ष बानियाँले बताउनुभयो । ‘रुख देखाए लगत्तै ठूलो पानी प¥यो’, उहाँले मन्दिर स्थापनाको क्षण सम्झिँदै भन्नुभयो, ‘हामी जंगलबाट बाटोतिर आयौँ, तर बाटोमा पानी परेको थिएन, सबै चकित भयौँ ।’
सोही समय मन्दिर स्थापनाका लागि एउटा समिति गठन गरिएको उहाँले बताउनुभयो । २०७१ साल असोजमा त्रिशुल, खुडा, मूत्र्ती लगायतका सामग्री ताप्लेजुङको पाथिभरा माताको मन्दिरमा लगेर रुद्री पाठ गरेपछि त्रिशुल साटेर असोज ११ गते नवमीको दिन वन क्षेत्रमा निर्माण गरिएको मन्दिरमा प्रतिस्थापन गरिएको अध्यक्ष बानियाँले बताउनुभयो ।
अहिले पाउपाथिभरामा झापा, मोरङ, सुनसरी, इलाम, काठमाडौँलगायत विभिन्न स्थानका साथै भारतको दार्जीलिङ, सिक्कीम, आसाम, पश्चिम बंगाल र बिहार राज्यका भक्तजन दर्शनका लागि आउने गरेका छन् ।
मंगलबार र शनिबारका दिन चार हजारभन्दा बढी भक्तजन आउने गरेको मन्दिर सञ्चालन समितिले जनाएको छ । अन्य दिन दैनिक दुई सयदेखि चारसय जनासम्म आउने गरेका छन् ।
पाउपाथिभरा दर्शन गर्न आउनुभएकी झापाको भद्रपुर–७ की संगीता पौडेलले यहाँ आएर दर्शन गर्दा चिताएको पुग्ने बताउनुभयो । ‘यहाँ आएपछि मन शान्त र आनन्दित हुन्छ’, उहाँले भन्नुभयो, ‘ठूलो पाथिभरा जान नसक्नेहरुका लागि सहज भएको छ ।’
पाउपाथिभरामा माताको चरण स्पर्श गरेर मात्र जानुपर्छ भन्ने मान्यता स्थापित हुँदै गएकाले पनि ठूलो पाथिभरा (ताप्लेजुङ) जानुअघि यहाँ दर्शन गरेर मात्र भक्तजान जाने गरेको मन्दिरका मूल गुरू आचार्य रामशरण सापकोटाले बताउनुभयो ।
करिब पाँच हेक्टर वन क्षेत्रमा पाउपाथिभरा रहेको छ । यहाँ वरिपरि सालका ठूला–ठूला रुख रहेका छन् भने हरियालीले जोकोहीको मन लोभ्याउँछ । वरिपरि विभिन्न प्रकारका फूल, रुख बिरुवाले मन्दिर क्षेत्रलाई थप आकर्षक बनाएको छ ।
२०७१ सालमा बालिएको दियो अखण्ड रुपमा हालसम्म बलिरहेको छ । दियोमा तेलका लागि बिर्तामोड ध्रुवकुमार सिवाकोटीले रू एक लाख प्रदान गरेको मन्दिर सञ्चालन समितिका अध्यक्ष बानियाँले बताउनुभयो । त्यस्तै, रू ७० हजारके लागतमा मेचीनगरका बिनोद बानियाँले तारजाली गरिदिएका छन् भने विभिन्न दाताहरुले भौतिक संरचना, मूर्ति लगायत निर्माण गरिदिएका छन् ।
दीर्घकालीन रुपमा मन्दिर सञ्चालनका लागि अक्षयकोष समेत निर्माण गरिएको छ । हाल कोषमा रू चार लाख रहेको छ । उक्त कोषलाई रू एक करोडको बनाउने लक्ष्यमा मन्दिर सञ्चालन समिति रहेको छ । कोष निर्माणका लागि दुई पटक पुराणको आयोजना गरिसकिएको छ भने पुनः पुराण लगाउने तयारी भइरहेको छ ।
मन्दिर क्षेत्रलाई बहुधार्मिकस्थल बनाउन बौद्ध गुम्बा र किरातेश्वर मन्दिर निर्माण गर्ने तयारीसमेत भइरहेको छ । पाउपाथिभरा मन्दिरमा चार जना गुरुहरुले दैनिक पूजापाठ, होमआदि गर्दै आएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

