
बिर्तामोड, ३ साउन । विवाहित महिलाहरुले सञ्चालन गरेको बुहारी समूह ‐म्यारिड ओमन सर्कल) नामक फेसबुक समूहले चार दिनका एक शिशुलाई उपचारका लागि रू ४९ हजार आर्र्थिक सहयोग गरेका छ ।
नशामा पलाएको ट्युमरका कारण मर्नु न बाँच्नुको अवस्थामा पुगेका शिशुको सफल शल्यक्रिया भए पनि अस्पतालको शुल्क बुझाउन नसकी छट्पटाइरहेका बाबुआमालाई फेसबुकको बुहारी समूहले आज उक्त सहयोग गरेको हो ।

रविना र मनकुमार राजवंशीका छोरा जन्मेको चार दिनमै नशामा ट्यूमर देखा परेपछि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा शल्यक्रिया गरिएको थियो । शल्यक्रिया भए पनि अस्पतालमा बुझाउनु पर्ने रकम बुझाउन नसकेर राजवंशी दम्पत्ति समस्यामा परेका कुरा बुहारी समूहले थाहा पाएपछि शिशुका बाबु मनकुमारलाई रू ४९ हजार रुपैयाँ सहयोग गरिएको समूहकी राधा आचार्य बस्नेतले जानकारी दिनुभयो ।
गत २०७४ जेठ ११ गते गठन भएको यो समूुहले महिलालाई आत्मनिर्भर बनाउँदै विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको अर्की सदस्य रविना शर्माले जानकारी दिनुभयो ।
समूहले खुशीब चाइल्ड केयर सेन्टरका बालबालिकालाई खाद्यान्न, काठमाडौँकी मिर्गौला पीडित लक्ष्मी रानालाई रू १० हजार, ब्लड क्यान्सर पीडित सवनम खातुनलाई रू ४० हजार, विभिन्न क्षेत्रका बाढी पीडितलाई नगद तथा जिन्सी सहयोग गर्दै आएको समूहकी उर्मिला गौतमले सुनाउनुभयो । समूहमा स्वदेश तथा विदेशका करिब छ हजार विवाहित महिला आबद्ध छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

