
भद्रपुर, ३ साउन । बुद्धशान्ति–५ स्थित पाँचपोखरी सामुदायिक वनभित्र वयस्क जंगली हात्ती मृत अवस्थामा फेला परेको छ ।
सड्न लागेको अवस्थामा फेला परेको भाले हात्तीलाई जिल्ला वन कार्यालय झापाको टोली, मानव हात्ती द्वन्द्व व्यवस्थापन समितिका अध्यक्ष, इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट गएको टोली र स्थानीयवासीको रोहबरमा आज मुचुल्का तयार गरी खाल्टोमा पुरिएको छ । बुधबार दिउँसो घाँस दाउरा गर्न सामुदायिक वन पुगेका स्थानीयवासीले दुर्गन्ध आएपछि खोज्दा मरेको हात्ती फेला परेको थियो । उनीहरुले तत्काल प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला वन कार्यालयका सहायक वन अधिकृत अनिरुद्धप्रसाद साहका अनुसार मरेको हात्तीको दाह्रा र दाँत दुवै निकालिएको अवस्थामा छ । मृत हात्तीको उमेर करीब ४५ वर्ष रहेको बताइएको छ । हात्तीलाई कसैले मारेको हो कि आफैँ मरेको हो भन्ने विषयमा वन कार्यालय र प्रहरीले अनुसन्धान गरिरहेको सहायक वन अधिकृत साहले बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

