
झापा, ५ असार । एक नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले बिर्तामोडबाट ‘स्वस्थ जीवन’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्षसम्ममा प्रदेशका १४ वटै जिल्लामा सञ्चालन हुने यो कार्यक्रम बिर्तामोडबाट थालनी गर्न लागिएको हो ।
शुक्रबार प्रदेशका मुख्यमन्त्री शेरधन राईले अभियानको उद्घाटन गर्ने कार्यक्रम छ । प्रदेश सरकारले यस कार्यक्रमका लागि गत माघमा ‘धुर्मुस–सुन्तली’लाई सद्भावना दूत नियुक्त गरेको छ । सर्वसाधारणलाई प्राकृतिक जीवनशैलीमा फर्काउने लक्ष्यका साथ अभियान सुरु गर्न लागिएको स्वस्थ जीवन कार्यक्रमका संयोजक तीर्थ आचार्यले बताए । उनका अनुसार सुरुवाती चरणमा झापा र मोरङमा यो अभियान सञ्चालन हुने छ ।
‘अहिले ८० प्रतिशत मृत्यु नसर्ने रोगका कारण भइरहेको छ, त्यसकारण सामाजिक विकास मन्त्रालयले स्वस्थ जीवनशैली अपनाउने तरिका सिकाउँदैछ,’ कार्यक्रम संयोजक आचार्यले भने, ‘सर्वसाधारणलाई बिहान चाँडै उठेर योग गर्नदेखि घर, चर्पी, समुदाय सरसरफाई गर्न सचेतना फैलाइन्छ ।’ अभियानका क्रममा पोषणबारे पनि ज्ञान दिइने बताइएको छ । टोलस्तरसम्मै अभियान लैजानका लागि वडा सदस्यसम्मलाई अभिमुखीकरण गराइसकिएको उनले जानकारी दिए ।
‘यो अभियान सुरु भएपछि हामी सबैजना टोलको सरसफाइमा निस्किनुपर्छ, योग अथवा व्यायाम गर्नुपर्छ, जमिन नहुनेले गमलामा भए पनि केही फलाएर खान सिक्नुपर्छ,’ आचार्यले भने, ‘सबैको बानी व्यवहार परिवर्तन गराउने र स्वस्थ बनाउने अभियान हो यो ।’ अभियानका लागि झापा र मोरङका सबै पालिकाबाट एक÷एक जना स्वास्थ्यकर्मीलाई विराटनगर बोलाएर प्रशिक्षण दिइसकिएको उनले बताए ।
शुक्रबार अभियान शुभारम्भका अवसरमा बिर्तामोडमा सात दिने योगाभ्यासको समेत सुरुवात गरिने बताइएको छ । पहिलो दिनको योग अभ्यासपछि मुख्यमन्त्री, प्रदेशका मन्त्री लगायत सरसफाइका अभियन्ताहरु बिर्तामोडको मुक्तिचोकमा सरसफाइका लागि निस्कने छन् । यो अभियानले सर्वसाधारणको स्वास्थ्य स्थितिमा सुधार ल्याउने तथा औषत आयु बढाउन मद्धत पुग्ने प्रदेश सरकारको अपेक्षा छ ।
झापामा स्वास्थ्यसम्बन्धी थुप्रै कार्यक्रम सञ्चालन भए पनि यो नौलो कार्यक्रम भएको जनस्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसुदन कोइरालाले बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

