
भद्रपुर, ६ साउन । झापा गाउँपालिकाले आफ्नो गाउँपालिका क्षेत्रभित्रका फुसका छाना भएका घरमा जस्ता पाता (टिन) लगाइदिने भएको छ ।
‘फुस हटाऔँ, टिन लगाऔँ’ भन्ने मूल नारासहित विपन्न वर्गका परिवारको घरमा भएको फुसको छाना हटाएर गाउँपालिकाले टिन लगाइदिने भएको हो । आर्थिक बर्ष २०७५÷७६ को बजेटमै सो अभियानका लागि रु २५ लाख गाउँपालिकाले छुट्याएको र रु २५ लाख हेविटेड नेपाल र सहारा नेपालले लगानी गर्ने भएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए ।
विशेषगरी सन्थाल, राजवंशी, गनगाई, मुस्लिम र मधेशी समुदायको बसोबास रहेको गाउँपालिकामा सात वटा वडा रहेकामा प्रत्येक वडाका २५० देखि ३०० घर अझै पनि फुसकै छाना रहको अध्यक्ष साहको भनाइ थियो । उनले भने, ‘विपन्न समुदाय छन् श्रम गरेको आम्दानीले उनीहरुलाई बिहान बेलुकाको छाक टार्नै पुग्दैन । घर कमजोर हुँदा हावा हुण्डरी, पानी र सर्पको डर हुन्छ । त्यसबाट बचाउनका लागि गाउँपालिकाबाटै हेविटेड नेपाल र सहारा नेपालको सहयोगमा टिन लगाइदिन लागेका छौँ ।’
दशैँपछिदेखि नै निर्माण कार्य शुरु गर्न हाल सात वटै वडामा फुसको छानाको तथ्याङ्क संकलन भइरहेको अध्यक्ष शाहले बताए । विसं २०६८ को जनगणनाअनुसार सो गाउँपालिकाको जनसंख्या ३४ हजार ६०१ छ । अध्यक्ष साहले करीब एकहजार ५०० परिवारको घरमा अझै फुसकै छाना रहेको हुँदा यस आर्थिक वर्षभित्र ७५० घरमा टिन लगाइदिने र बाँकी २०७६÷७७ मा पूरा गर्ने बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

