
झापा, ८ साउन । झापा कनकाई नगरपालिकास्थित सुरुङ्गमा प्रथम महिला जगतगुरु शंकराचार्य हेमानन्द गिरीलाई आज नागरिक अभिनन्दन गरिएको छ ।
जगतगुरु शंकराचार्यको पदवी पाएपछि उहाँलाई कनकाई नगरपालिकाका नागरिकले अभिनन्दन गरेको हो । नगरबासीका तर्फबाट नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले अभिनन्दन पत्र प्रदान गर्दै उहाँलाई सम्मान गर्नुभयो । हेमानन्दले गत असार २६ गते जगतगुरु शंकाराचार्यको पदवी पाउनुभएको थियो ।
हिन्दु धर्मावलम्बीको सर्वोच्च पदवी शंकराचार्य बन्नुअघि उहाँ महामण्डलेश्वर, आचार्य महामण्डलेश्वर हुनुहुन्थ्यो । मोरङको पथरी शनिश्चरेकी स्थायी बासिन्दा हेमानन्द गिरी भारतका चार पीठमध्ये उत्तराखण्डको पीठाधीशसमेत नियुक्त हुनुभएको छ ।
शंकराचार्य छनोट समितिले उत्तराखण्डमा पीठाधीसका लागि केही महिना अघि आह्वान गरेको थियो । उहाँले दुई सय प्रतिस्पर्धीलाई पछि पार्दै त्यहाँको पीठाधीस बन्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

