
बिर्तामोड, १८ भदौ । सरकारले स्वस्थ मासु उत्पादनका लागि पशु बधशाला तथा मासु जाँच ऐन–नियम बनाए पनि कार्यान्वयन हुन सकेको छैन । जसका कारण उपभोक्ता स्वच्छ मासु सेवन गर्नबाट बञ्चित भएका छन् ।
पशु बधशाला र मासु जाँच ऐन, २०५५ र पशु बधशाला तथा मासु जाँच नियमावली, २०५७ जारी भए पनि कार्यान्वयन नहुँदा उपभोक्ताले स्वच्छ मासु उपभोग गर्न पाएका छैनन् । उपभोक्तालाई सफा र स्वस्थकर मासु बिक्री गर्न र विभिन्न मासुजन्य रोगबाट बचाउन पशु बधशाला तथा मासु जाँच ऐन बनाएको भए पनि नियमनकारी निकायले ध्यान नदिँदा खुल्ला ठाउँमा जथाभावी मासु काटेर बिक्री गनेर् क्रम रोकिएको छैन ।
पशु बधशाला र मासु जाँच नियमावली २०५७ मा बध गर्न ल्याइएका पशुहरुको स्वास्थ्य परीक्षण गर्नु अघि र स्वास्थ्य परीक्षण गरी बध गर्न योग्य पशु राख्ने छुट्टाछुट्टै स्थानको व्यवस्था भएको हुन् पर्ने, बिरामी पशु राख्ने अलग्गै ठाउँ हुनु पर्ने, बध गर्न अघि पशुको स्वास्थ्य परीक्षण (एन्टिमोर्टम एक्जामिनेशन) गर्नको लागि आवश्यक स्थानको व्यवस्था भएको हुनपर्ने भए पनि झापामा मापदण्ड पुगेका बधशाला छैनन् । भएका बधशाला पनि उपयोगविहीन हुँदा सबै साधारणले दुषित मासु उपयोग गर्नु परेको छ ।
झापामा सञ्चालित अधिकांश मासु पसल अहिले पनि मापदण्डविपरीत छन् । झापाको बिर्तामोड, दमक, भद्रपुर, काँकरभिट्टा लगायत मुख्य शहरमा सञ्चालित मासु पसलले राज्यले तोकेको मापदण्ड पूरा गरेका छैनन् ।
जथाभावी खसी तथा कुखुरा बध गनेर् गरेको, खुल्ला रुपमा सडक छेउमै मासु बेच्न राख्ने गरेको, मासु काट्ने हतियार तथा अचानो लगायत सामान सफा नरहेको र झिँगा भन्किएको मासु बिक्री भइरहेको उपभोक्ताहरुको गुनासो छ । अनुगमन गनेर् अधिकार स्थानीय तहमा आए पनि झापाका स्थानीय तहले प्रभावकारी अनुगमन गर्न सकेका छैनन् । चाड पर्व नजिकिएसँगै मासु पसलको एक पटक अनुगमन गरिए पनि त्यसले खासै प्रभाव नपार्ने स्थानीयको भनाइ छ । राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बाले स्थानीय सरकारले समय समयमा मासु पसलको अनुगमन गर्नु पर्ने भएपनि स्थानीय तहका जनप्रतिनिधिले नै बजार अनुगमनमा चासो नदेखाएको बताए । उनले भने, ‘झापाका स्थानीय तहले अहिलेसम्म मासु पसलको अनुगमन गरेको मलाई थाहा छैन । आफू खुशी उनीहरुले अनुगमन गरेहोला तर राष्ट्रिय उपभोक्ता मञ्चसँग सहकार्य भएको छैन ।’
मासु पसलको अनुगमन नहुँदा फुटपाथमा बिक्रीका लागि राखिएको मासु खान स्थानीय बाध्य भएको अध्यक्ष सुब्बाले बताए । उनले भने, ‘खुट्टामा लगाउने जुत्ता बन्द कोठामा एसीसहितको हलमा राखिन्छ तर खाने मासु फुटपाथमा राखिएको हुन्छ, त्यसमा उपभोक्ता पनि सचेत रहन जरुरी छ ।’
पशु बधशाला निर्माणका लागि स्थानीय तहले अहिलेसम्म चासो नदिएकै कारण सरकारले बनाएको ऐन कागजमा सीमित बन्न पुगेको छ ।
दशैँ, तिहार, छठ र लोसार जस्ता चाडपर्वको बेला भान्छामा विभिन्न परिकारका खानेकुरा पाक्छन् । ती विभिन्न परिकारमध्ये प्रमुख मानिन्छ मासु । चाडपर्वको बेला मासुका विभिन्न परिकार बनाएर खाने चलन छ । तर, मासु कति खाने ? कस्तो मासु खाने ? मासु खाँदा के–कस्ता कुरामा सावधानी अपनाउने ? भन्ने चेतना अभावमा मासु सेवनकै कारण विभिन्न प्रकारका रोगको शिकार बन्नु परेको छ ।
चिकित्सकहरुका अनुसार खानपिनमा सामान्य ध्यान नदिँदा उच्च रक्तचाप, मुटरोग, मधुमेह र पेटजन्य समस्याका बिरामीको संख्या ह्वात्तै बढ्दै गएको छ । त्यस्तै बजारमा पाइने अस्वस्थकर मासुका कारण तत्कालै टाइफाइड, झाडापखला, क्षयरोग, आउँ, पेट फुल्ने, मृगौलाको रोग, फुड पोइजनिङ आदि समस्या समेत देखिने गरेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

