
काठमाडौँ, २३ कात्तिक । विश्वमा पहिलोपटक यौनसम्पर्कबाट डेंगु सरेको पत्ता लागेको छ। लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगु, यौनसम्पर्कबाट सरेको यो पहिलो घटनाबाट डाक्टरहरु नै छक्क परेका छन्।
स्पेनका ४१ वर्षीय एक मानिसमा यौनसम्पर्कबाट डेंगु सरेको डेलिमेल युकेले बताएको छ। ती पुरुषलाई क्युबा भ्रमणमा गएका बेला आफ्नो पुरुष पार्टनरसँगको शारीरिक सम्पर्कपछि डेंगु देखिएको थियो। मड्रिडकी जनस्वास्थ्य अधिकारी जिमिनेजले सो कुराको पुष्टि गरेकी हुन्।
उनीहरुको शुक्राणु परीक्षण गर्दा डेंगु सेप्टेम्बरमा पुष्टि भएको थियो। जिमिनेज भन्छिन् ‘साउथ कोरियामा पनि एक महिला र एक पुरुषबिच यौनसम्पर्कबाट डेंगु संक्रमण भएको हुन सक्ने भन्ने कुरा एक लेखमा लेखिएको थियो।’
डेंगु के हो ?
डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ ।
यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यस्ले फुल पार्दछ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्तमात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिएको बताए ।
डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।
डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोमगरी तिन प्रकारका छन । क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो । यो आफंै निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ । तर यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु हुन सक्छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

