
बिर्तामोड, १५ साउन । सहारा नेपाल साकोसले अब कृषि क्षेत्रको प्रविधि विकाससँगै २० हजार युवालाई रोजगार बनाउने योजना अगाडि सारेको छ ।
कार्यक्षेत्र भित्रका ६ बटा जिल्लामा २५ बटा पकेट क्षेत्र निर्धारण गरी त्यसमा २० हजार जनालाई आबद्ध गराउने र उनीहरुलाई उद्यमी बनाउने लक्ष्य रहेको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बताउनुभयो ।
उहाँका अनुसार यसक्रममा १५ बटा बाख्रा र १० बटा कुखुराको पकेट क्षेत्र निर्धारण हुनेछ भने प्रविधियुक्त कृषिमा जोड दिइनेछ । यसमा १०१ स्थानमा कार्यक्रम सञ्चालन हुनेछ भने किसानहरुलाई ज्ञान र सीप हस्तान्तरण गरिनेछ ।
कार्यक्रमका संयोजक युवराज सिवाकोटीले प्रविधिसँगै ऋण पनि प्रवाह गरिने र किसानहरुको आयस्तर उकास्न सहयोग गरिने जानकारी दिनुभयो । जस अन्तरगत प्रविधियुक्त खेती प्रणालीको अबलम्बन गरी व्यवहार परिवर्तन गर्न मद्दत गरिने जनाइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

