
बुधबारे, ३ माघ । झापाको बुद्धशान्तिमा पूर्वेली साप्ताहिक र जोइन्ट हेन्ड युथ सोसाइटीको संयुक्त आयोजनामा भएको स्वास्थ्य शिविरमा शुक्रबार १६० बढीलाई निशुल्क स्वास्थ्य जाँच र औषधी वितरण गरिएको छ । विर्ता आयूर्वेदिक एण्ड फिजियोथेरापी सेन्टर बिर्तामोडको प्राविधिक सहयोगमा बुद्धशान्तिका वासिन्दाले स्वास्थ्य सेवा लिएका हुन् ।
जोइन्ट हेन्ड युथ सोसाइटी बुद्धशान्तिका अध्यक्ष सञ्जील प्रसाईंको संयोजकत्व, पूर्वेली साप्ताहिकका अध्यक्ष चन्द्रप्रकाश कोइरालाको सभापतित्व तथा बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईंको प्रमुख आतिथ्यतामा बुद्धशान्ति ३ बुधबारेमा स्वास्थ्य शिविर भएको हो ।

शिविरमा विर्ता आयूर्वेदिक एण्ड फिजियोथेरापी सेन्टर बिर्तामोडका थेरापिष्ट डा. भगवान शाह, कविराज कमल रिजाल, योगेश श्रेष्ठ र विवेक बाँस्तोलाको टोलीले स्वास्थ्य जाँच गरेको थियो भने स्वास्थ्य चौकी बुधबारेकी सिनियर अनमी गोमा उप्रेती लगायतको टोलीले पनि प्राविधिक सहयोग उपलब्ध गराएको थियो । शिविरमा विर्ता आयूर्वेदिक एण्ड फिजियोथेरापी सेन्टर बिर्तामोडले विरामीहरुलाई निशुल्क औषधी पनि उपलब्ध गराएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि चापागाईंले स्वास्थ्य शिविर आयोजना गरेर दुवै संस्थाले राम्रो कार्य गरेको बताए । उनले बुद्धशान्तिका जनतालाई शिविरले फाइदा पुर्याएको पनि बताए । कार्यक्रममा बुद्धशान्ति ३ का वडाध्यक्ष कमल उप्रेती, बुद्धशान्ति स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीको विशेष आतिथ्यता थियो भने बुद्धशान्ति २ का वडा सदस्य राजु पराजुली, प्याव्सन बुद्धशान्ति अध्यक्ष विष्णु सापकोटा, उपभोक्ता हित संरक्षण मञ्च बुद्धशान्तिका अध्यक्ष धरणीधर पोखरेल, योगमाया पराजुली लगायतको आतिथ्यता थियो । कार्यक्रम पूर्वेली साप्ताहिकका सम्पादक तथा जोइन्ट हेन्ड युथ सोसाइटीका उपाध्यक्ष अनिल वाग्लेले सञ्चालन गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

