
बिर्तामोड, ३ माघ । बिर्तामोड नगरपालिका–६ लाई पूर्ण सरसफाई कार्ययोजना निर्माणका लागि समिति गठन गरिएको छ ।
वडा सदस्य पर्शुराम खनालको संयोजकत्वमा गठित समितिले वडालाई आगामी तीनवर्ष भित्रमा पूर्ण सरसफाई उन्मुख वडा बनाउनका लागि सातदिन भित्रमा गर्नुपर्ने कामको योजना बनाउने जिम्मेवारी दिइएको छ ।
समितिका अन्य सदस्यहरुमा अर्जुन खवास, चनद्र नुगु, आइतमाया शेर्मा, सुवास भट्टराई, हिमा निरौला र इन्द्रबहादुर थेगुवा रहनु भएको छ । समितिले बनाएको योजनामा आगामी शुक्रबार टोल समितिका पदाधिकारी सहितको उपस्थितिमा छलफल गरी त्यसलाई नगरपालिकामा पठाइने संयोजक खनालले जानकारी दिनुभयो ।
कार्ययोजना निर्माण अघि पूर्ण सरसफाई कार्ययोजना निर्माण सम्बन्धी एकदिने कार्यशाला आज (शुक्रवार) सम्पन्न भएको छ । जिएफएस युएन ह्याविटाटको सहयोग विराट सामुदायिक अध्ययन केन्द्रको सहजीकरण तथा बिर्तामोड नगरपालिकाको समन्वयमा आयोजित कार्यशालामा वडाभित्र गठित टोल समितिका अध्यक्ष तथा पदाधिकारीको सहभागिता रहेको थियो ।
कार्यशालामा चर्पीको समुचित प्रयोग र दीगोपना, सुरक्षित पानीको प्रयोग, समुचित खानाको प्रयोग, वातावरणीय सरसफाई लगायतका विषयमा सोम आचार्य, टंक भण्डारी र कृष्णप्रसाद सिटौलाले सहजीकरण गरेका थिए । वडा सदस्य पर्शुराम खनालको अध्यक्षता तथा वडा महिला सदस्य पवित्रा ढुङ्गानाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहजीकरण सोम आचार्य, टंक भण्डारी र कृष्णप्रसाद सिटौलाले सहजीकरण गरेका थिए ।
वडासचिव रुकमान थलङले सञ्चालन गरेको कार्यक्रममा कृष्णमाया चौधरीले स्वागत गर्नुभएको थियो । १६३१ घरधुरी रहेको बिर्तामोड–६ का ५७ घरमा अझै चर्पी छैनन् भने ७४८ घरधुरीमा एक खाल्डे चर्पी र ५० वटा मात्र दुई खाल्डे चर्पी रहेका छन् । ७६३ घरमा सेफ्टी ट्याङ्कीसहितको शौचालय रहेको वडा–६ का ८९ घरधुरीले शौचालय निर्माण गरे पनि प्रयोग नगरेको पाइएको एक सर्वेक्षणले देखाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

