
झापा, १७ जेठ । झापाको बिर्तामोड–२ चारपानेस्थित जेम्स फिट्नेस सेन्टरले बुद्धशान्ति गाउँपालिका–४ बर्ने क्षेत्रमा रहेको भाइरल सिरिस आसपास सरसफाइ अभियान सञ्चालन गरेको छ।
फिट्नेस सेन्टरका सञ्चालक जिम्स उप्रेतीको नेतृत्वमा आइतबार आयोजित अभियानमा सेन्टरका सदस्य तथा स्थानीय युवाहरूको सहभागिता रहेको थियो। केही दिनअघि उक्त क्षेत्रमा घुम्न जाँदा फोहोरको अवस्था देखिएपछि सरसफाइ कार्यक्रम आयोजना गरिएको उप्रेतीले बताए।
उनका अनुसार बाह्य तथा आन्तरिक पर्यटकले जथाभावी फोहोर फाल्दा क्षेत्रको वातावरण अस्वस्थ बन्दै गएको छ। स्थानीय तह र सरोकारवालाले यस विषयमा थप चासो दिनुपर्ने उनको भनाइ छ।
जेम्स फिट्नेस सेन्टरले स्थापनाकालदेखि नै लागूऔषधविरुद्धको अभियान, सरसफाइ, रक्तदान तथा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। सेन्टरले युवाहरूलाई सामाजिक गतिविधिमा सक्रिय सहभागिताका लागि समेत आह्वान गरेको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


