
झापा, १६ जेठ । झापाको दमक नगरपालिका–१० स्थित सेतुमारी क्षेत्रमा रहेको रतुवा खोलाको पुलमुनि फेला परेको शवको पहिचान भएको छ ।
उक्त शव दमक–८ की रमा तिवारी रहेको उनका बुबाआमाले पुष्टि गरेका छन् । दमक–८ बसन्त टोलका नारायण तिवारीको छोरी वर्ष २१ की रोमा भन्ने रमा तिवारी रहेको भन्ने उनको बुवा र आमा मुना तिवारीले मृतकको शव समेत हेरेर पहिचान गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
रमा जेठ १३ गते राति करिब ९ः३० बजे घरबाट आफूखुसी हिँडेको र घर नफर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
बगिरहेको पानीमा शनिबार बिहान करिब ११ बजे रमाको शव फेला परेको थियो । स्थानीयवासीले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शव सेतो प्लास्टिकको बोराभित्र पोको पारिएको अवस्थामा भेटिएकाले घटना अत्यन्तै शङ्कास्पद देखिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा महिलाको हत्या गरी शव खोलामा फालिएको हुन सक्ने आशंका गरिएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


