
झापा, १७ जेठ । झापाको काँकरभिट्टाबाट लागुऔषध खैरो हेरोइनसहित काठमाडौंका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं शंखरापुर नगरपालिका–८ का ३२ वर्षीय रोशन कार्की रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले मेचीनगर नगरपालिका–६ मेचीडाँडा क्षेत्रमा आज दिउँसो करिब १ः३० बजे कार्कीलाई पक्राउ गरेको हो ।
भारतबाट मेची खोलाको बाटो हुँदै पैदल नेपाल प्रवेश गर्दै गरेका कार्कीमाथि शंका लागेर जाँच गर्दा उनले लगाएको पाइन्टको गोजीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको थियो । बरामद पदार्थको तौल गर्दा प्लास्टिकसहित ५३ ग्राम ८०० मिलिग्राम र प्लास्टिकबाहेक ४८ ग्राम ६० मिलिग्राम रहेको प्रहरीले जनाएको छ ।
कार्कीको साथबाट एक थान मोबाइल फोन र ८ हजार रुपैयाँ नगदसमेत बरामद गरिएको छ । पक्राउ परेका कार्कीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


