
सोलु, १५ साउन । सोलु दूधकुण्ड नगरपालिका¬–७ का सञ्जीव भुजेलको ट्रेकिङका क्रममा मृत्यु भएको छ ।
विदेशी पर्यटकसहित चीनको तिब्बतमा ट्रेकिङ गएका २३ वर्षीया भुजेलको लेक लागेर मृत्यु भएको छिमेकी भानुभक्त श्रेष्ठले जानकारी दिनुभयो ।
केही दिनअगाडि आफ्नै बुबा र काकाको साथमा ट्रेकिङ गएका भुजेलको आइतबार राति मृत्यु भएको मृतकका बुबा मानबहादुर भुजेलले जानकारी दिनुभयो । उनी सहितको टोली शिवम् ट्राभल लाजिम्पाटबाट केही दिनअगाडि तिब्बत गएको बुझिएको छ ।
रसुवागढी नाकामा पहिरोले सडक अवरुद्ध गरेपछि मृतकको शव ल्याउन समस्या भएको बताइएको छ । अवरुद्ध सडक खुलेसँगै उनको शव नेपाल ल्याएपछि हेलिकप्टरमार्फत जन्मस्थान ल्याउने पहल भइरहेको स्थानीय बासिन्दा श्रेष्ठले बताउनुभयो ।
यस विषयमा प्रहरीलाई कुनै पनि जानकारी नआएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशमबहादुर पराजुलीले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

