
गौरादह, १६ साउन । गौरादह नगरपालिकाका जनप्रतिनिधिले स्थानीय निकाय तथा गाउँ समाजमा भएका कुरालाई यथार्थ बुझेर मात्र नागरिकहरु समक्ष लैजान सल्लाह दिएका छन् ।
उनीहरुले सञ्चारमाध्यमले तथ्यपरक कुराहरु जनता समक्ष पु¥याउन भूमिका निर्वाह गर्नुपर्ने समेत जोड दिएका छन् । एफ.एम प्लस गौरादहले आयोजना गरेको स्थानीय निकायमा सञ्चारको भूमिका विषयक अन्तरक्रियामा बोल्दै जनप्रतिनिधिहरुले वडाभित्र गरेका विकास निर्माणका कामहरुलाई नागरिकहरु समक्ष पु¥याई सकारात्मक सन्देश दिन सञ्चार माध्यम अगाडि बढ्नु पर्नेउल्लेख गरे ।
एफ.एम प्लसको साक्षात्कार कक्षमा सञ्चालन गरिएको अन्तरक्रियामा रेडियोका प्रबन्ध निर्देशक युवराज भट्टराईले यस क्षेत्रमा हुने गरेका कार्यहरुको यथार्थ विवरणलाई जनता समक्ष लैजान रेडियोले भूमिका निर्वाह गर्दै आएकोमा जनप्रतिनिधि, नगरबासी र नगरपालिकाभित्र भएका कामहरुको जानकारी गराउन अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रमा गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार शाहले जनप्रतिनिधि आइसकेपछि गौरादह नगरको विकास तीव्र रुपमा भएको बताए । गौरादहको समृद्धि, विकास र सेवा जनप्रतिनिधिहरुले अंगालेर अगाडि बढेको हुँदा कृषि, स्वास्थ्य, शिक्षा, खानेपानि, यातायात तथा अन्य विकास निर्माणका कार्यहरुको यथार्थ जानकारि सञ्चार माध्यमले नागरिकहरु समक्ष लैजानु पर्ने बताएका छन् ।
वडा नंं. ९ का वडा अध्यक्ष सीताराम भट्टराईले नगरबासीको भावना र चाहना अनुसार जनप्रतिनिधिहरुले काम गर्न चाहे पनि कर्मचारीहरुको कमीको कारणले नगरबासीको काममा ढिलाइ भएको स्वीकार गरे । नगरपालिकाले गरेका विकास निर्माणका कामहरु को सञ्चारमाध्यमले प्रशारण गरिदिन आग्रह गर्दै कमी कमजोरी भएमा खबरदारी गनुपर्ने धारणा राखे ।
वडा नं. १ का वडाअध्यक्ष नगेन्द्र भण्डारीले नगरपालिका र वडा कार्यालयहरुले गरेका कामको विवरण सञ्चारमाध्यमहरुलाई समयमै जानकारी गराउनुपर्ने जानकारी गराउँदै नगरपालिकाले एफएमसँग सहकार्य गरेर साझेदारीमा मासिक वा पाक्षिक रुपमा कार्यक्रम गर्नुपर्ने बताए । वडा नंं ४ का वडा अध्यक्ष मणिन्द्र कार्कीले नागरिकहरुलाई अफवा फैलाउने नकारात्मक समाचारभन्दा सकारात्मक सन्देश दिने समाचारहरु सम्प्रेषण गर्ने सल्लाह दिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

