
बिर्तामोड, १७ माघ । नवौँ हात्तीपाइले रोगविरुद्धको अभियान अन्तरगत झापामा आठ लाख जनालाई औषधि सेवन गराइने भएको छ ।
आगामी माघ २५ गतेदेखि फागुन ५ गतेसम्म जिल्लाव्यापी रुपमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गराउन लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक वेदप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार सो अवधिमा ८ लाख २ हजार ६०५ जनालाई औषधि सेवन गराउने लक्ष्य रहेको छ । जसका लागि जिल्लामा ६३१ जना स्वास्थ्य स्वयम्सेवी र ४१६ जना स्वास्थ्यकर्मी परिचालन गरिने उहाँले बताउनुभयो । हात्तीपाइले विरुद्धको औषधि डीईसी २० लाख ६ हजार ५१२ थान र एलेक्जेन्डाजोल ८ लाख ८२ हजार ८६५ थान वितरण गरिनेछ ।
हात्तीपाइले रोग विरुद्धको औषधि भ्रम र सचेतनाको कमीका कारण सहरी क्षेत्रकै मानिसले सेवन गर्न हिच्कचाउने गरेको उहाँले बताउनुभयो । ग्रामीण क्षेत्रका मानिसले औषधि सेवन गरे पनि सहरी क्षेत्रमा औषधि सेवनको दर कम रहेको संयोजक घिमिरेले बताउनुभयो ।
झापाको बिर्तामोड, दमक, मेचीनगर लगायतका प्रमुख सहरमा औषधि सेवनको दर ५० प्रतिशतभन्दा कम रहेको उहाँले बताउनुभयो । ‘सहरी क्षेत्रमा नै औषधि सेवन चुनौतीको रुपमा देखिएको छ’, उहाँले भन्नुभयो, ‘यहाँ शिक्षित समुदाय भए पनि औषधि सेवन दर बढेको छैन ।’
गत वर्ष दमकको एक विद्यालयमा औषधि सेवन गराउन स्वास्थ्य स्वयम्सेवी जाँदा विद्यालयले नदिएको उहाँले अनुभव सुनाउनुभयो । भन्नुभयो, ‘औषधिका कारण कुनै विद्यार्थी बिरामी भयो भने हामीलाई समस्या हुन्छ भन्दै औषधि नै खुवाउन दिइएन ।’
विश्व स्वास्थ्य संगठनले पनि सन् २०२० सम्ममा विश्वबाटै हात्तीपाइले रोग उन्मुलनको लक्ष्य लिएको छ । सोही लक्ष्य भेट्टाउन पनि यस पटकको औषधि सेवन अभियान सफल बनाउनुपर्ने चुनौती छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत जीवन चापागाईंले नेपालको ६३ जिल्ला हात्तीपाइले रोगको जोखिममा रहेको र २ करोड ५० लाख जनसंख्या जोखिममा रहेका बताउनुभयो ।
नेपालमा सन् २००१ मा गरिएको अध्ययनका क्रममा ‘प्रिभालेन्स रेट’ १३ प्रतिशत थियो भने सन् २०१९ मा त्यो घटेर १ दशमलव ४७ मा झरेको छ । यसलाई शून्य वा १ भन्दा कम बनाए मात्र हात्तीपाइले उन्मुलन भएको मानिन्छ ।
हाल नेपालको ५० जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान बन्द भएको छ भने १३ जिल्लामा जारी छ । उचेरिया ब्याङ्क्रफ्टी नामक जिवाणुको कारण लाग्ने यो रोग लामखुट्टेको माध्यमबाट एक मानिसबाट अर्कोमा मानिसमा सर्ने गर्छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

