
झापा, १६ साउन । हिन्दु धर्मको सर्वोच्च पद शंकराचार्यमा नियुक्त नेपाली चेली हेमानन्द गिरीलाई विवादमा तानिएकी छिन् । उनले भने पदका लागि आफू उपयुक्त भएको दाबी गरेकी छन् । साउन ७ गते काशी विद्धत परिषद्ले अवैध भएको ठहर गरेको पत्र सार्वजनिक भएपछि धार्मिक क्षेत्रमा तरंग आएको छ ।
नेपालमा थुप्रै ऋषिमुनिले तपो र देवभूमि नेपालमा गरेको योगदानमा पनि जगद्गुरु शंकराचार्य दाबी गर्न नसक्नुले नेपाललाई कमजोर पारिराखेकै अवस्थामा आफूले सबै प्रमाण पु¥याएर नियुक्ति पाएको उनको भनाइ छ । १२ सय वर्षको इतिहासमा शंकराचार्य पदका लागि दाबी गर्ने उनी पहिलो महिला हुन् । नेपाली महिला भएकाले यो विषयमा आम नेपालीको चासो छ ।
चार मठ भारतमा छन् । नेपालमा पाँचौं मठ भएको र चार वेद भएकोमा पाँचौं वेदको प्रतिनिधित्व नेपालले गरिरहेको उनको भनाइ छ । हेमानन्दले सार्वजनिक कार्यक्रममा भनेकी थिइन्, ‘नेपालमा पहिलो महिला राष्ट्रपति, महिला सभामुख र महिला प्रधानन्यायाधीश भएको बेलामा मलाई शंकराचार्यमा छनोट गरिएको छ ।’
हेमानन्दले केही व्यक्ति र संस्था स्वार्थले प्रेरित भएर नेपालीलाई नै भ्रमित पार्ने काम भएको टिप्पणी गरिन् । ‘यो विकृत मानसिकताको उपज हो, महिला आफूभन्दा माथि पुग्नु हुन्न भन्ने संकीर्ण घेराको परिणाम हो’, उनले भनिन्, ‘मलाई शंकराचार्यको पद अखिल भारतीय विद्वत सभाले दिएको हो जसले भारतमात्र नभएर पूरै विश्वकै प्रतिनिधित्व गर्छ तर काशी विद्वत परिषद् जो नगरजस्तो हैसियतमा छ उसले भनेको आधारले किन यस्तो काम हुँदैछ ?’
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

