
हल्दिबारी, १७ साउन । झापाको हल्दिबारी गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ का लागि रू ४४ करोड ४८ लाख ८५ हजार बराबरको अनुमानित बजेट पारित गरेको छ ।
गत आव २०७४÷०७५ मा प्रस्तावित उक्त बजेट संशोधनसहित आगामी आर्थिक वर्ष २०७५÷०७६ का लागि गाउँपालिकाको बुधबार बसेको दोस्रो गाउँसभाबाट पारित गरिएको हो । ‘हल्दिबारीको दृष्टि, कृषि र पर्यटन मार्फत समृद्धि’ भन्ने मूल नाराका साथ एकीकृत गाउँ विकासको अवधारणासहित बजेट तयार पारिएको गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिनुभयो ।
हल्दिबारीको जलथल जंगललाई चारकोशे जंगल पर्यटन केन्द्र बनाउने गरी प्राकृतिक चिडियाघर, जंगल अवलोकनका लागि केवलकार, होम स्टे, भूकम्प प्रतिरोधी एकैखाले घर निर्माण, उज्यालो गाउँपालिका, प्राविधिक शिक्षा प्रोत्साहन कार्यक्रम, महिला, बालबालिका संरक्षण, फलफूल उत्पादमा जनसहभागिताका लागि एकघर एक फलफूल लगायतका विषयवस्तु बजेटमा समेटिएको छ ।
त्यस्तै, गाउँपालिकाले कृषि, पर्यटन, सन्तुलित पाकृतिक श्रोत परिचालन, गुणस्तरीय शिक्षाका लागि सीपमा आधारित शिक्षा, जस्ता जनपक्षीय योजनाको नीति तय गरी बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनुभयो ।
झापा क्षेत्र नम्बर ३ का संसद राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उत्कृष्ट कर्मचारी सम्मानबाट गाउँपालिकाका लेखा अधिकृत दिपकचन्द्र आचार्य, खरिदार नारायण दाहाललाई नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा पूर्व सभाषद मोहन टुडु, प्रदेश सभा संसद पूर्णसिंह राजवंशी, नेकपा नवीन मैनाली, जग्गादाता सरोज थापा लगायतले मन्तव्य राख्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

