
बिर्तामोड, १६ फागुन । नवौँ चराणको हात्तीपाइले रोगविरुद्धको अभियान अन्तरगत झापामा ९० प्रतिशतले औषधि सेवन गरेका छन् ।
गत माघ २५ गतेदेखि जारी जिल्लाव्यापी अभियान अन्तरगत हालसम्म ९० प्रतिशत जिल्लाबासीले औषधि सेवन गरिसकेको स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जीवन चापागाईंले जानकारी दिए ।
‘जिल्लाका कतिपय स्थानमा औषधि सेवन सकिएको छ, कतिपयमा अझै जारी छ’, उनले भने, ‘डेढ महिनाभित्र अभियान सफल बनाउने केन्द्रको निर्देशन बमोजिम औषधि सेवन गराउने काम जारी छ ।’ उनले लक्षित समुदाय सबैलाई औषधि सेवन गराएर मात्रै अभियान सम्पन्न गरिने बताए ।
यो वर्ष जिल्लामा आठ लाख दुई हजार ६०५ जनालाई औषधि सेवन गराउने लक्ष्य राखिएको छ । जसका लागि ६३१ जना स्वास्थ्य स्वयम्सेवी र ४१६ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ । हात्तीपाइले विरुद्धको औषधि डीईसी २० लाख ६ हजार ५१२ थान र एलेक्जेन्डाजोल ८ लाख ८२ हजार ८६५ थान वितरण गरिनेछ ।
विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा विश्वबाटै हात्तीपाइले रोग उन्मुलनको लक्ष्य लिएको छ । सोही लक्ष्य भेट्टाउन पनि यस पटकको औषधि सेवन अभियान सफल बनाउन अभियान लामो समयसम्म सञ्चालन गरिएको हो ।
नेपालको ६३ जिल्ला हात्तीपाइले रोगको जोखिममा रहेकोमा ५० जिल्लामा अभियान सफल भइसकेको छ भने यो वर्ष १३ जिल्लामा औषधि खुवाइँदैछ । नेपालमा सन् २००१ मा गरिएको अध्ययनका क्रममा हात्तीपाइले रोगको संक्रमण दर १३ प्रतिशत थियो । उक्त दर सन् २०१९ मा त्यो घटेर १ दशमलव ४७ मा झरेको छ । यसलाई शून्य वा १ भन्दा कम बनाए मात्र हात्तीपाइले उन्मुलन भएको मानिन्छ ।
उचेरिया ब्याङ्क्रफ्टी नामक जिवाणुको कारण लाग्ने यो रोग लामखुट्टेको माध्यमबाट एक मानिसबाट अर्कोमा मानिसमा सर्ने गर्छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

