
बनियानी, २० फागुनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले नोवेल कोरोना भाइरसविरुद्ध जुट्न सम्पूर्ण पार्टी कार्यकर्तालाई लाग्न आग्रह गर्नुभएको छ ।
झापाको बिर्तामोडमा आज हुने भनिएको प्रदेश नं. १ स्तरीय भेला प्रशिक्षण कार्यक्रम स्थगित भएको बारे जानकारी दिन यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले विश्वको ६७ देशमा कोरोना भाइरस फैलिएको र नेपालमा पनि फैलिन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभयो ।
नेपालका विभिन्न सहरमा कोरोना भाइसरको संक्रमण हुन सक्ने सम्भावना रहेको र त्यसबाट सजग तथा सुरक्षित हुन तत्काल साना–ठूला भेला नगर्न स्वास्थ्य मन्त्रालय र नेकपा केन्द्रीय कमिटीले निर्देशन दिएपछि भेला स्थगित भएको छ ।

कार्यक्रममा नेता खनालले कोरोना भाइसरविरुद्धको अभियानमा सम्पूर्ण पार्टी कार्यकता र पत्रकारलाई लाग्न आग्रह गर्नुभयो । ‘स्वास्थ्य मन्त्रालयले आवश्यक सावधानी अपनाउन भनिसकेको छ’, उहाँले भन्नुभयो, ‘हाम्रो देशमा हेल्थ केयर सिस्टम पर्याप्त छैन, त्यसैले पनि यसबाट बच्न सबैले सावधानी अपनाउन आवश्यक छ ।’
छिमेकी राष्ट्र चीनको हुबइ प्रान्तबाट फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा समेत देखिएको बताउँदै उहाँले दुवै छिमेकी राष्ट्रसँग खुला सीमाना रहेकाले पनि उच्च सतर्कता अपनाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता खनालले मुलुक राष्ट्रिय अभियान रहेको बेला अन्तर्राष्ट्रिय रुपमा देखा परेको कोरोनाको संक्रमणले राष्ट्रिय अभियान तत्कालका लागि स्थगित गरिएको बताउनुभयो ।
यसैबीच, नेकपा प्रदेश नं. १ ले प्रदेशमा कुनै पनि साना–ठूला कार्यक्रम नगर्न पार्टी कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टीका प्रदेश नं. अध्यक्ष देवराज कार्की र सचिव सुरेशकुमार राईले आज संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै त्यस्तो निर्देशन दिनुभएको हो ।
‘आज हुने भनिएको प्रदेश स्तरीय भेला प्रशिक्षण स्थिगित गरिएको छ’, अध्यक्ष घिमिरेले भन्नुभयो, ‘कार्यक्रममा सहभागी हुन प्रदेशभरबाट आउनुभएका कार्यकर्ता त्यसै फर्किनु परेकोमा क्षमा चाहन्छौँ ।’ कोरोना भाइसरविरुद्ध एकताबद्ध भई प्रतिवाद गर्न समेत प्रदेश कमिटीले अपिल गरेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

