
प्रकाश धौलाकोटी
तेह्रथुम, १८ साउन । पर्यटन प्रवद्र्धनका लागि तेह्रथुमको छथर गाउँपालिकाले ‘प्रधानमन्त्री राष्ट्रिय उद्यान’ निर्माण गर्ने भएको छ । गाउँपालिकालाई जिल्लाकै नमूना गाउँपालिका बनाउने लक्ष्यसहित अघि बढेका जनप्रतिनिधिले गाउँको पर्यटन प्रवद्र्धनका लागि उक्त उद्यान निर्माण गर्ने योजना अघि सारेका हुन् ।
उक्त गाउँपालिकाको आर्थिक वर्ष २०७५÷७६ को बजेटबाट उद्यान निर्माणको काम थाल्ने गरी बजेटसमेत विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताउनुभयो । उद्यानमा नेपालका हालसम्मका सबै प्रधानमन्त्रीको स्तम्भ निर्माण गरी उनीहरूको कार्यकाल र योगदानको विवरण राखिनेछ ।
उद्यानभित्र आकर्षक बोट विरुवा र पूर्वाधारसमेत तयार गरी गाउँपालिकालाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने ध्येयले उद्यान निर्माणको योजना बनाइएको उहाँले बताउनुभयो ।
गाउँपालिकाले आगामी तीन वर्षमा निर्माण पूरा गर्ने गरी पहिलो वर्ष रु १० लाख बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताउनुभयो ।
उद्यान निर्माणका लागि पहिलो वर्ष डिपीआर तयार गरी काम शुरु गरिने प्रवक्ता नेपालीको भनाइ थियो । गाउँपालिकामा धार्मिक र ऐतिहासिक महत्वका स्थल भएपनि यस्तो प्रकृतिको ऐतिहासिक उद्यान कतै पनि निर्माण नभएकाले उद्यान निर्माणको योजना अघि सारिएको गाउँपालिकाका अध्यक्ष लिम्बूले बताउनुभयो ।
गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा उक्त उद्यानका लागि रु ९० लाख विनियोजन गरेको छ । पुँजीगततर्फको बजेटबाट गाउँपालिकाले पर्यटन क्षेत्रका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरेको हो । गत वर्ष गाउँपालिकाले पर्यटन क्षेत्रमा रु ४० लाख मात्रै खर्च गरेको थियो ।
गाउँपालिकाले भ्यू–टावर निर्माण, साततले धामको पूर्वाधार विकास, च्याङलुङ गुफा, पिकनिक स्थल, चिल्डे«न पार्क, सहिद पार्क र भ्यू–पार्क निर्माणलगायत योजनाका लागि रु ९० लाख विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता नेपालीले जानकारी दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

