
झापा, २६ फागुन । दक्षिणी झापाको नेपाल–भारत सीमा झापा गाउँपालिका–१ स्थित कुमरखोदमा कोरोना भाइरस (कोभिड–१९) हेल्थ डेक्स स्थापना गरिएको छ ।
आइतबार एक कार्यक्रमका बीच झापा गाउँपालिकाकी उपाध्यक्ष कुन्तीदेवि बुडाथोकीले हेल्थ डेक्सको उद्घाटन गर्नुभयो । आइतबार नै भारतीय बजार डिगलबैंकमा भारतले कोरोना भाइरसको हेल्थ डेक्स स्थापना गरेको छ ।
झापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले कोरोना भाइरसको संक्रमण रोक्नका लागि दुवैतर्फ हेल्थ डेक्स स्थापना गरिएको बताउनुभयो । ‘हामीले हेल्थ डेक्स सञ्चालन गरेकै दिन भारततर्फ पनि हेल्थ डेक्स स्थापना गरिएको छ’, उहाँले भन्नुभयो, ‘हामीले हेल्थ डेक्स राखेको जानकारी पाएपछि हेर्न गयौँ र उहाँहरु पनि हाम्रो तिर आएर हेर्नुभयो ।’
कोरोना भाइरसबारे सचेतना फैलाउन दुवैतर्फका स्वास्थ्यकर्मीले अनुभव आदान–प्रदान समेत गरेका छन् ।
कुमरखोदमा स्थापना भएको हेल्थ डेक्समा दुई जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ । बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म एक जना र १२ बजेदेखि बेलुका ६ बजेसम्म एक जना गरी १२ घण्टासम्म हेल्थ डेक्सबाट सेवा प्रदान गरिनेछ ।
हेल्थ डेक्समा कोरोनाको मुख्य तीन लक्षण उच्च ज्वरो, स्वासप्रश्वासमा कठिनाइ र रुघाखोकी देखिएका बिरामीलाई अस्पताल पठाइने व्यवस्था मिलाइएको छ । इन्फोरेट थर्मामिटर (ज्वरो नाप्ने यन्त्र) बाट ज्वरो नापिने प्रमुख विश्वकर्माले बताउनुभयो ।
सरकारले साना–ठूला सीमा नाकामा हेल्थ डेक्स स्थापना गर्ने लिएको योजना अनरुप यहाँ पनि हेल्थ डेक्स स्थापना गरिएको हो । उपाध्यक्ष बुडाथोकीले कोरोना भाइरस भित्रन दिन पूर्व तयारी अनुरुप हेल्थ डेक्स स्थापना गरिएको बताउनुभयो । उहाँले सबैलाई आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभयो ।
हेल्थ डेक्समा सीमा क्षेत्रमा खटिएका सशस्त्र तथा नेपाल प्रहरीको टोलीले शंका लागेका मानिसलाई सोझै पठाउने र शंकास्पद लागेमा नजिकैको अस्पतालमा भर्ना गरिने व्यवस्था मिलाइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

