
झापा, ५ चैत । राष्ट्रिय खोप कार्यक्रम अन्तरगत झापाका २० हजार बालबालिकालाई रोटा भाइरसविरुद्धको खोप लगाइने भएको छ ।
सरकारले नियमित राष्ट्रिय खोप कार्यक्रममा रोटा भाइरसविरुद्धको खोप पनि समावेश गरेपछि जिल्लामा नियमित खोप लिइरहेको १९ हजार ९५० बालबालिकालाई रोटा भाइरसविरुद्धको खोप लगाइने भएको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख इश्वरीप्रसाद पौडेलले जानकारी दिनुभयो । यो खोप जन्मेको छ हप्ता र १० हप्तामा लगाउनु पर्ने उहाँले बताउनुभयो ।
झाडा–पखालाबाट हुने बाल मृत्युदर घटाउने उद्देश्यले सरकारले राष्ट्रिय खोप कार्यक्रममा रोटा भाइरसविरुद्धको खोपलाई पनि समावेश गरेको हो । रोटा भाइरसको कारणबाट बालबालिकामा झाडापखालाको समस्या देखिने गर्दछ भने यो भाइरसबाट ३ देखि ५ वर्षका बालबालिका बढी संक्रमति हुने गर्छ ।
झापामा पहिलोपटक रोटा भाइरसविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्न लागिएकाले स्वास्थ्य कार्यालय झापाले यहाँका स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयम्सेविकालाई यस रोग र खोप लगाउने विधिहरुका बारे प्रशिक्षण दिएको कार्यक्रमका सहजकर्ता बालकृष्ण भण्डारीले बताउनुभयो । आजदेखि शुरु भएको अभिमुखीकरण बुधबारसम्म चल्नेछ । अभिमुखीकरणमा निमित्त प्रमुख पौडेल, भेक्टर कन्ट्रोल अधिकृत जीवन चौलागाईं, तथ्यांक अधिकृत चूडामणि लुइँटेलले सहजीकरण गरिरहनुभएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

