
बिर्तामोड, ५ चैत । झापाको बिर्तामोड नगरपालिका–७ मा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ ।
शहरी स्वास्थ्य केन्द्रको एक कार्यक्रमका बीच आज प्रदेश सांसद एकराज कार्कीले उद्घाटन गर्नुभयो । कार्यक्रममा सांसद कार्कीले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाले शहरी स्वास्थ्य केन्द्र स्थापना गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
बिर्तामोड नगरपालिकामा अनारमनी, चारपाने, गरामनीमा स्वास्थ्य चौकी र सात वटा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा रहेका छन् । नगरपालिकाले अनारमनी स्वास्थ्य चौकीलाई २५ बेडको अस्पताल बनाउने निर्णय गरिसकेको छ भने यसको स्वीकृति भई बजेट समेत विनियोजन भइसकेको नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिनुभयो ।
त्यस्तै, चार वटा वडामा रहेका शहरी स्वास्थ्य केन्द्रलाई आधारभूत स्वास्थ्य केन्द्रका रुपमा अगाडि बढाउने योजना बनाइएको बिर्तामोड नगरपालिकाका प्रशासन शाखा प्रमुख देबराज कार्कीले बताउनुभयो ।
बिर्तामोड नगरपालिका–७ की अध्यक्ष चन्द्रकला पकुवालको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख शिवाकोटी, उप–प्रमुख पवित्रा महतारा प्रसाईं, प्रवक्ता अग्नि पाण्डे, स्वास्थ्य शाखा प्रमुख तुलसी पोखरेल, नेकपा वडा अध्यक्ष होम आचार्य लगायतले मन्तव्य राख्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

