
सन्तोष शर्मा
झापा, ७ चैत । सर्वत्र कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको त्रास फैलिरहेको बेला झापामा मौसमी रुघाखोकीका बिरामी बढेको छन् ।
मौसम परिवर्तन भएसँगै मौसमी रुघाखोकीका बिरामी बढेका हुन् । कोरोना भाइरसको संक्रमणको मुख्य तीन लक्षण उच्च ज्वरो, रुघाखोकी र स्वासप्रश्वासमा समस्यामध्ये मौसमी रुघाखोकीमा ज्वरो आउने र रुघाखोकी लाग्नले हुँदा मानिसमा ‘कोरोनाको संक्रमण हो कि’ हो कि भन्ने त्रास बढेको छ ।
मौसम परिवर्तन भएसँगै मानिसमा मौसमी रुघाखोकी देखिएको मेची अञ्चल अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले बताए । ‘अहिले जताततै कोरोना भाइरसको चर्चा छ’, उनले भने, ‘त्यसैले पनि ज्वरो र रुघाखोकी लाग्दा मानिस डराइरहेका छन् ।’
अरु बेलाजस्तै अस्पतालमा मौसमी रुघाखोकीका बिरामी आउने गरेको बताउँदै डा. ठाकुरले सिटामोल खान र घरमै बसेर आराम गर्न सुझाव दिए । ‘बढी भीडभाड हुने स्थानमा जानु हुँदैन’, उनले भने, ‘घरमै बसेर घरेलु उपचार गर्नुपर्छ ।’
सीमा नाकामा हेल्थ डेक्स
भारतसँग सीमानाका जोडिएका स्थानमा धमाधम हेल्थ डेक्स स्थापना भइरहेको छ । जिल्लाका मेचीनगर (काँकरभिट्टा), भद्रपुर (विमानस्थल र मेची नदी किनार), कचनकवल (केचना), झापा (कुमरखोद), गौरीगञ्ज गाउँपालिकाका सीमा नाकामा हेल्थ डेक्स स्थापना भइसकेका जिल्ला प्रशासन कार्यालय झापाको विपद व्यवस्थापन समिति सहायकता कक्षका सचिव जीवन चम्लागाईंले जानकारी दिए ।
उनका अनुसार चैत ५ गतेसम्ममा जिल्लाका सबै हेल्थ डेक्सबाट ५२ हजार ७१५ जनाको परीक्षण गरिसकिएको छ भने हालसम्म एक जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छैन ।
त्यस्तै, मेची अञ्चल अस्पतालमा दुई वटा आइसीयूसहितको पाँच शैय्याको आइसोलेसन र बीएण्डसी अस्पताल बिर्तामोडमा पाँच शैय्याको आइसोलेसन व्यवस्था गरिएको छ । कलवलगुडीमा सबै सुविधासहित बिहीबारदेखि ३० जना क्षमताको क्वारेन्टाइन सञ्चालनमा आइसकेको सचिव चम्लागाईं बताए ।
त्यस्तै, मेची अञ्चल अस्पताल र बीएण्डसी अस्पतालका ल्याबका दुई÷दुई जनालाई रगतको नमूना संकलनका लागि तालीम दिइएको छ । उनीहरुलाई तयारी अवस्थामा राखिएको छ ।
बजारमा चहलपहल घट्यो
कोरोना भाइरसको त्रासका कारण जिल्लाका मुख्य सहर तथा बजारमा चहलपहल घटेको छ । झापाको काँकरभिट्टा, बिर्तामोड, भद्रपुर, दमक लगायतका साना तथा ठूला बजारमा मानिसको चहलपहल घटेको हो ।
मानिसको चहलपहल घटेसँगै व्यवसायसमेत घटेको बिर्तामोडका कुमार लिम्बूले बताए । ‘बजारमा अरु बेलाजस्तो चहलपहल छैन’, उनले भने, ‘मानिस नै नभएपछि व्यवसाय हुने कुरै भएन ।’
बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले ५० प्रतिशत व्यवसाय घटेको बताए । ‘आधाउधी मानिस घरबाट ननिस्की बसेका छन्’, उनले भने, ‘व्यवसयको अवस्था पनि उस्तै छ ।’
बजारमा कृतिम अभाव सिर्जना गर्न केही व्यापारी समेत लागिपरेको उनले बताए । ‘बजारमा कृत्रिम अभाव सिर्जना गर्न केही व्यापारी लागेको पनि देखिएको छ’, उनले भने, ‘यसका लागि विभिन्न संघसंस्थासँग बसेर छलफल गर्दैछौँ ।’ शुक्रबार सम्ममा संघले केही गर्ने उनले बताए । सर्वसाधारणले दुई÷चार महिनाका लागि आवश्यक उपभोग्य लगायतका सामग्री खरीद गर्ने गरेको समेत बताए ।
ग्यासको कालोबजारी
विशेष गरेर झापामा ग्यासको कालोबजारी बढेको छ । पसलमा जाँदा उपभोक्ताले सहजै ग्यास पाउँदैनन् । कि त मूल्यभन्दा बढी तिर्नुप¥यो कि त चुल्होसहित नयाँ सिलिण्डर किन्नुप¥यो । ग्यासको मूल्य १ हजार ३५५ भए पनि १ हजार ४२५ तिर्न उपभोक्ता बाध्य छन् ।
ग्यासका अभाव भएको गुनासो आएपछि बिहीबार बुद्धशान्ति गाउँपालिकाले बजार अगुमन गरेको छ । गाउँपालिका उपाध्यक्ष मीरा भुर्तेलको नेतृत्वमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा व्यापारी बजारमा कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्न खोजेको पाइएको उपाध्यक्ष भुर्तेलले बताइन् ।
झापाको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालको नेतृत्वमा बुधबार भएको बजार अनुगमनमा व्यापारीले १ हजार ३८५ रुपैयाँदेखि १ हजार ५ सय रुपैयाँसम्म ग्यास बिक्री गरेको पाइएको थियो ।
बजारमा ग्यास अभाव देखिन थालेपछि नगरको अनुगमन टोलीले बजारको निरीक्षण गरेको हो । सोही क्रममा शिवसताक्षी–४ स्थित रंगियाथान बजारबाट ४६ थान ग्याससहितको सिलिण्डर अनुगमन टोलीले बरामद गरेको उपप्रमुख नेपालले बताइन् । झापामा कनकाई, मेची, त्रिशक्ति, पाथीभरा लगायतका ग्यास उद्योग छन् ।
काँकरभिट्टा नाका सुनसान
भारतको बंगाल सरकारले काँकरभिट्टा नाका बाहेक सबै नाका बन्द गरेको छ । तर, यो नाका खुला भए पनि नभएसरह छ । मानिसको आवागमन बढी भएर कहिलेकाहीँ घण्टौँसम्म जाम हुने यो नाका अहिले सुनसान छ । एकाध मानिस आवातजावत गर्ने बाहेक कुनै चहलपहल देखिँदैन ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

