
बिर्तामोड, ९ चैत । झापाको बिर्तामोड नगरपालिकाले कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै ९० बेडको क्वारेन्टाइन स्थापना गर्ने भएको छ ।
आइतबार बिहान बसेको बैठकले मेची आँखा अस्पतालमा ५० र कञ्चनजंघा हेल्थ साइन्समा ४० गरी कुल ९० बेडको क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको हो । नगरका प्रवक्ता अग्नि पाण्डेका अनुसार दैनिक खाद्य वस्तु अर अत्यावश्यक सामग्री उपलब्ध गराउन अनुगमन कार्यलाई सक्रिय बनाइने पनि भएको छ ।
नगरस्तरीय अनुगमनका लागि नगर प्रमुख ध्रुव शिवाकोटी संयोजक र उप प्रमुख पवित्रा महतारा सह संयोजक तोकिनु भएको छ । वडास्तरमा पनि अनुगमन समिती गठन गरि कालोबजारी नियन्त्रणका लागि सक्रिय रहने नगरपालिकाले जनाएको छ ।
त्यसैगरी, विदेशबाट आउने व्यक्तिको रेकर्ड राख्न वडाका जनप्रतिनिधिलाई सक्रिय बनाउने पनि निर्णय भएको बताइएको छ । नगरपालिकाको स्वास्थ्य शाखालाई क्रियाशील राख्दै सूचना र जानकारी नियमित प्रवाह गरिने भएको छ ।
यसअघि कोरोना भाइरसको सम्भावित जोखिम न्युनीकरणका लागि बिर्तामोड नगरपालिकाले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी बीचमा २ पटक अन्तरक्रिया गरिसकेको जनाएको छ भने सबै अस्पतालमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिसकिएको छ ।
त्यसैगरी, स्वास्थ्य सस्था र अस्पतालहरुमा ज्वरोको अनिवार्य परिक्षण पनि सुरु गरिएको छ । सार्वजनिक र आम सञ्चार माध्यम मार्फत सचेतनामूलक सामग्री प्रकाशन प्रशारण पनि भइरहेको बिर्तामोड नगरपालिकाले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

