
झापा, १२ चैत । नेपालमा थप एक जनामा कोरोना भाइरस भेटिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या तीन पुगेको छ ।
काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले गरेको नमुना परीक्षणमा पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । सुरुमा चीनबाट आएका एक जना विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् । उनलाई कोरोना सङ्क्रमण भएको झण्डै एक महिनापछि फ्रान्सबाट फर्किएकी विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
कतार ट्रान्जिट हुँदै आएकी ती विद्यार्थी उपचारमा छिन् । बुधबार तेस्रो संक्रमित भेटिएको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले बताएका छन् । एक व्यक्तिको रिपोर्टमा पोजेटिभ आएको उनले पुष्टि गरेका हुन् । प्रयोगशालामा नमुना परीक्षण गर्दा कोरोनाभाइरस भएको पुष्टि भएपछि ती सङ्क्रमित व्यक्तिलाई उपचारका लागि अरूबाट अलग्ग राखिएको छ।
३१ वर्षका ती बिरामी केही दिनअघि एक खाडी मुलुकबाट नेपाल आएका थिए । प्रयोगशालामा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ । नेपालमा दुई जनामा कोरोना देखिएपछि सरकारले सङ्क्रमण फैलिन नदिन एकसाताका लागि लक डाउन गरेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

