
बिर्तामोड, १९ साउन । ट्याक्टरको ट्रलीजडान गर्न १८ हजार रुपैयाँ घुस रकम लिएका झापाको बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालय मेचीका कर्मचारीले आफ्नो कर्तुत लुकाउन अर्को नयाँ नाटक मञ्चन गरेका छन् । लेखा शाखाका कर्मचारीद्धय कल्पना न्यौपाने र नारायण प्रसाद दुलालले मंगलबार घुसबापत लिएको रकम अनावश्यक शिर्षक राखी जरिवाना भन्दै राजश्वमा दाखिला गरेका छन् ।
दमकस्थीत ग्लोबल अटो सेन्टर र प्यासिफक इन्टरप्राइजेजले नामसारी र ट्रली जडान गर्न लगेका ४ वटा ट्रयाक्टरमा लेखा शाखाका कर्मचारीले १८ हजार रुपैयाँ घुस लिएको प्रमाण सहितको समाचार सार्वजनिक भएको थियो । बिभिन्न सोरुमका कर्मचारीको मिलेमक्तोमा विगत लामो सयमदेखि निक्कै व्यवस्थित र प्रक्रिया पुराएर हुने गरेको घुस लेनदेनको पर्दापास गरेपछि कर्मचारीले नयां नियम बनाएका हुन ।
गत मंगलबार इन्टरप्राइजेजकी कर्मचारी रुबिना थापाले आर्थिक वर्षको बक्यौता बापत चारवटा ट्रयाक्टरको २ हजार दाखिला गरेकी थिएन् । कर्मचारीले अटो सेन्टरको नविकरण नगरेको र ट्रयाक्टरको प्राविधीक चेकजाँच बहाना देखाउन थालेपछि रुबिनाले घुसबापत कार्यालयका कर्मचारीलाई रकम दिएकी थिइन् ।
मेकानिकल सुपरभाइजर श्रीधर खड्काले ४ हजार र लेखाशाखाकी अधिकृत कल्पना न्यौपानेले १८ हजार रुपैयाँ लिएका थिए । कर्मचारीले घुस लिएको समाचार आएपछि चारवटा ट्रयाक्टरको सम्पूर्ण प्रक्रिया सक्न कर्मचारीले नै ३२ हजार रुपैयाँ खर्च गरेर राजश्व दाखिला गरेका छन् ।
घुस खाएको रकम राजश्वमा दाखिला भएको देखाउन कर्मचारीले ट्रली जडानका लागि पूर्व स्वीकृत नलिए बापत ४ हजार ५ सयका दरले ४ वटा ट्रयाक्टरमा जरिवाना काटेका छन् । ऐन अनुसार आफ्नो क्षेत्राधिकारमा एकहजार देखि ५ हजारसम्म जरिवान काट्ने अधिकार भएको भन्दै घुसबापत लिएको रकम राजश्वमा दाखिला भएको देखाउन उनीहरुले मनलाग्दी जरिवाना काटेका हुन् । जबकी कार्यालयले हालसम्म कुनैपनि ट्रयाक्टरको ट्रली जडानका लागि पूर्व स्वीकृत नलिएको शिर्षकमा जरिवान बापत रकम उठाएको देखिदैन ।
असोककुमार थापाले सञ्चालन गरेको अटो सेन्टर नविकरण गर्न पटक पटक यातायात व्यवस्था कार्यालयलाई आग्रह गरेपनि कार्यालयका कर्मचारीले विभिन्न बहाना देखाएका थिए । कर्मचारीलाई घुस नदिएकै कारण आफ्नो सेन्टर नविकरण नभएको र अहिले आफुले नै सुन्दै नसुनेको जरिवाना कर्मचारीले काटेको थापाले बताए ।
कार्यालयका निमिक्त प्रमुख टंकबहादुर कार्कीले घुस काण्डका विषयमा आफुले विभागमा जानकारी गराएको र यसका विषयमा कर्मचारीलाई स्प्रष्टीकरण सोधेर आवश्यक प्रक्रियामा जाने जवाफ दिएका छन् । (न्यूज २४ बाट)
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

