
झापा, १९ साउन । छिल्लो समय देशभर घुसहित सरकारी कर्मचारी पक्राउ पर्ने क्रम बढेको छ । यसले कर्मचारीमा अतिरिक्त कमाई गर्ने मोह उच्च रहेको देखिन्छ । जसले गर्दा जनतालाई सास्ती र कर्मचारीलाई मस्ती भएको छ भने बेतिथिले जरो गाडेको छ ।
यसैबीच, हालै मात्र तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख शंकरप्रसाद दाहाल २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
उनलाई अख्तियारको टोलीले शुक्रबार दिउँसो साढे १ बजे सेवाग्राहीबाट घुस लिँदै गर्दा पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी स्थित कार्यालयबाट आएको प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डे नेतृत्वको टोलीले दाहाललाई उनकै कार्यकक्षबाट घुससहित नियन्त्रणमा लिएको हो ।
अख्तियारको टोलीले दाहाललाई नियन्त्रणमा लिएर इटहरी फर्किएको इलाका प्रहरी कार्यालय सक्रान्तिबजारका सई देवराज काफ्लेले बताए । मालपोत कार्यालयको निमित्त प्रमुखको कार्यरत दाहाल नायव सुब्बा हुन् । उनलाई जग्गा रजिष्ट्रेसनमा सेवाग्राहीबाट घुस लिँदै गर्दा रंङ्गेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

