
मेचीनगर, १९ साउन । देशका विभिन्न भागमा भइरहेका बलात्कार र महिला हिंसा विरुद्ध शुक्रबार झापाको मेचीनगरमा बृहद प्रदर्शन गरिएको छ ।
नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन काँकरभिट्टा इकाई कमिटीको आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरुले वृहद प्रदर्शन गरेका हुन् । व्यचलर क्याम्पस कमिटी अध्यक्ष हरिप्रसाद भट्टराईको व्यवस्थापनमा काँकरभिट्टा माध्यमिक विद्यालय परिसरबाट बलात्कारीलाई कारवाही गर, महिला हिंसा विरुद्ध एक हौ, महिलाको सम्मान गरौलगायतका नारा लेखिएका प्ले कार्ड र व्यानरसहित निस्केको र्यालीले क्याम्पस रोड, मुख्य राजमार्ग, वडा कार्यालय परिसर, गुरास पथ, बाहुनडाँगी रोड, इलाका प्रहरी कार्यालय परिसर तथा काँकरभिट्टा बजारको मुख्य मुख्य भागको परिक्रमा गरी मेची भन्सार कार्यालय काँकरभिट्टाको पुरानो यात्रु शाखा परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै विद्यार्थी नेताहरुले यस्ता आपराधिक क्रियाकलाप विरुद्ध पूर्वबाट शुरु भएको विरोध अभियान अब देश भरी नै हुने बताए । उनीहरुले दोषीको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन समेत सरकारलाई माग गरे । युनियनका झापा अध्यक्ष दुर्गा धमलाले आफ्नो संगठन सधै महिलामाथि हुने हिंसा सहित सवै खाले हिंसा विरोधी भएको र देशमा यस्ता आपराधिक गतिविधि भईरहेकाले संगठन चुप लागेर नवस्ने बताए ।
राष्ट्र प्रमुख महिला भएको यो मुलुकमा झापा, सुनसरी, रोल्पा, रुकुमलगायत यो देशका धेरै ठाउँमा महिला हिंसाका घटना पटक पटक भइरहेको भन्र्दै यसको अन्त्यका लागि अनेरास्ववियूको सिङ्गो संगठन लागि परेको उनको भनाई छ ।
उनले महिलामाथि हुने अन्याय अत्यचार आफ्नो संगठनलाई मान्य नहुने भन्दै यसका लागि स्वयम् महिला समेत जागरुक हुने पर्नेमा जोड दिए । अहिले प्रत्येक घर घरमा महिला हिंसा हुने गरेको प्रसंग उल्लेख गर्दै अध्यक्ष धमलाले यसको अन्त्यका लागि समाज परिवार र स्वयम् महिला जागरुक नहुने हो भने यस्ता घटना सधै दोहोरिरहने बताए ।
विद्यार्थी नेतृ वेञ्जु पौडेलले कहिले बोक्सीको नाममा त कहिले छाउपडी प्रथाका नाममा अनि कहिले दाइजो र तिलकका नाममा महिलाले हिंसा व्यहोर्नु परेको बताईन् । कुनै न कुनै बहनामा महिलाहरु दैनिक हिंसाको शिकार हुनु परेको भन्र्दै उनले श्रृखलारुपमा महिला माथि हुने हिंसाको अन्त्य गर्न सरकारसँग जोडदार माग गरिन् ।
उनले यस्ता आपराधिक गतिविधिमा संलग्नको पहिचान गरी सरकारले तत्काल कारवाही गर्नुपर्नेमा जोड दिईन् । कञ्चनपुरकी १४ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना उल्लेख गर्दै पौडेलले सरकारले त्यस घटनामा संलग्नको तत्काल पहिचान गरी कारवाही गर्न समेत माग गरिन् ।
प्रदर्शनमा जिल्ला स्तरीय विद्यार्थी नेताहरु झापा जिल्ला क्याम्पस कमिटीका सचिव राजेश कार्की, पूर्व जिल्ला अध्यक्ष रोशन सुवेदी, त्रिदेव बहुमुखी क्याम्पस चारआलीका स्ववियू उपसभापति लक्ष्मी न्यौपाने, युवा संघ नेपाल प्रदेश नम्बर १ का प्रदेश सदस्य सदस्य बालकृष्ण थापा, झापा जिल्ला सचिवालय सदस्य बलराम गरिी, नेकपा मेचीनगर ६ नम्बर वडा कमिटी अध्यक्ष प्रितम काफ्लेलगायतको सहभागिता रहेको थियो ।
अनेरास्ववियू मेचीनगर कमिटी अध्यक्ष सन्तोष धमलाले सञ्चालन गरेको कार्यक्रमको विशिष्ट अतिथि काँकरभिट्टा माविका प्रधानध्यापक तुलसीप्रसाद निरौला थिए । आयोजक कमिटीका अध्यक्ष विनम सरदारको सभापतित्वमा भएको कार्यक्रम सम्पन्न भएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

