
बिर्तामोड, १९ साउन । नेपालबाट यसवर्ष हजका लागि १ हजार २ सय जना हजयात्री साउदी अरबको मक्कामदिना सरिफमा सहभागी हुने भएका छन् ।
झापाबाट आठ जनासहित देभभरबाट उक्त संख्यामा नेपाली हजयात्री मक्कामदिना जह गर्न सहभागी हुने जमिअत उलमा ए झापाका अध्यक्ष एजाज अहमद अन्सारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार झापाबाट बसिर अहमद मियाँ, जुवेदा खातुन, हजरततुल्ला खान, कमालुद्दिन, नुर महम्मद लगायत आठ जना रहेका छन् । मक्का र मदिना सरिफ मुस्लिम समुदायका लागि विश्वकै सबैभन्दा ठूलो तीर्थस्थल हो ।
नेपालबाट हजका लागि जाने हजयात्रीलाई यो वर्ष एयर अरेवियामार्फत् नेपाल हज कमिटीले ल्याउने र लैजाने व्यवस्था मिलाइएको नेपाल हज कमिटिका सदस्य शाह मोहम्मद मियाँले बताउनुभयो ।
‘यो वर्ष हजका लागि नेपालबाट जाने हजयात्रीहरुको खानपान गर्ने तरिकामा पनि केही परिवर्तन गरिएको छ’, अध्यक्ष अन्सारीले भन्नुभयो, ‘हजयात्रीहरुले हजका क्रममा आफैँले पकाएर खाने गरेका थिए, यस वर्ष क्याटरिङको व्यवस्था गरिएको छ ।’
करिब ४५ दिनको हजयात्राको व्यवस्थापनका लागि प्रतिव्यक्ति रू २ लाख १४ हजार खर्च हज कमिटीले शुल्क लिने निर्णय गरेको थियो । हजयात्रीको व्यवस्थापनका लागि १० जनाको टोली यात्रामा सहभागी हुनेछन् ।
गत साउन १६ गते हजयात्रीको पहिलो टोली मक्कामदिना प्रस्थान गरिसकेको अध्यक्ष अन्सारीले जानकारी दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

